टिकटक बेच्न पछिल्लो पटक समयसीमा बढाउनु कानूनविपरीत: अमेरिकी सिनेटर

Technology Khabar २७ चैत्र २०८१, बुधबार

टिकटक बेच्न पछिल्लो पटक समयसीमा बढाउनु कानूनविपरीत: अमेरिकी सिनेटर
टिकटकको लोगो। फ्रिपिक डटकममार्फत।

काठमाडौं ।

सेनेट इन्टेलिजेन्स समितिका शीर्ष डेमोक्र्याट सेनटर मार्क वार्नर ले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा टिकटकको अमेरिकी सम्पत्ति चीन-आधारित बाइटडान्सबाट विक्री गर्नका लागि समयसीमा ७५ दिनले बढाइएको निर्णय कानूनविपरीत भएको बताएका छन्।

वार्नरले सन् २०२४ मा पारित कानुनअनुसार बाइटडान्सको प्रभाव पूर्णरूपमा समाप्त गर्नुपर्ने भए पनि रिपोर्ट अनुसार हाल छलफलमा रहेको सम्झौता प्रस्तावले कानुनी मापदण्डहरू पूरा नगर्ने बताएका छन्।

“सो सम्झौताले बाइटडान्सलाई नयाँ अमेरिकी इकाइमा ठूलो शेयर स्वामित्व कायम राख्न र प्रविधि विकास तथा मर्मतमा सक्रिय भूमिका निभाउन दिने बताइएको छ, जुन गम्भीर चिन्ताको विषय हो,” वार्नरले बताएका छन्।

ट्रम्पले शुक्रबार टिकटकका अमेरिकी सम्पत्ति गैर-चिनियाँ खरिदकर्तालाई बिक्री गर्न बाइटडान्स लाई दिइएको समयसीमा ७५ दिन थपिएको घोषणा गरेका थिए। यसअघि सन् २०२४ को कानुनअनुसार जनवरीमा प्रतिबन्ध लाग्नु पर्ने थियो। शुक्रबारको घोषणापछि व्हाइटहाउस र टिकटक दुवैले कुनै टिप्पणी गरेका छैनन्।

स्रोतहरूले बताएअनुसार प्रस्तावित सम्झौतामा टिकटकको अमेरिकी अपरेसनलाई नयाँ अमेरिकी कम्पनीमा विभाजन गरिने, जसको बहुमत स्वामित्व र सञ्चालन अमेरिकी लगानीकर्ताको हुनेछ। यसले बाइटडान्स को स्वामित्व घटाउने लक्ष्य राखेको रोयटर्सले उल्लेख गरेको छ।

वार्नरले भने, “कुनै पनि योग्य बिक्री प्रक्रिया यस्तो हुनुपर्छ जसले बाइटडान्स र टिकटक यूएसएबीच पूर्णरूपमा अपरेसनल सम्बन्ध बिच्छेद गरोस्, र दुवै कम्पनीलाई प्रयोगकर्ताको व्यक्तिगत डाटा वा सोर्स कोडमा पहुँच नरहोस्।”

उनले थपे, “वर्तमान छलफलमा रहेको सम्झौताले राष्ट्रिय सुरक्षाप्रति विश्वास कमजोर पार्छ र कानुनी पालना हुने सुनिश्चितता दिन सक्दैन।” ट्रम्पले टिकटक सम्झौता सम्बन्धमा चार फरक समूहसँग कुराकानी भइरहेको बताएका छन्।

टिकटकको अमेरिकी सञ्चालन बेच्नका लागि सबैभन्दा ठूलो अवरोध चिनियाँ सरकारको स्वीकृति रहेको छ। चीनले अझैसम्म सार्वजनिक रूपमा सम्झौताको समर्थन गरेको छैन। ट्रम्पका पछिल्ला भनाइहरूले पनि चीनको असहमति कायमै रहेको संकेत गर्छन्।

केही सांसदहरूले ट्रम्पलाई कानुन लागू गर्नुपर्ने माग गरेका छन्, जसअनुसार जनवरी १९ सम्म टिकटक ले बाइटडान्स बाट आफ्नो अमेरिकी सम्पत्ति छुट्याउन नसकेमा एपको सञ्चालन रोक्नुपर्ने थियो। ट्रम्पले जनवरी २० मा दोस्रो कार्यकाल सुरु गरेपछि यो कानुन लागू गरेका छैनन्।

यसैबीच अमेरिकी न्याय विभागले जनवरीमा एप्पल र गुगललाई कानुन लागू नगर्ने जानकारी दिएको थियो, जसपछि दुवै कम्पनीले टिकटक एप फेरि डाउनलोडका लागि उपलब्ध गराएका थिए।

प्रकाशित: २७ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया