Technology Khabar २० चैत्र २०८१, बुधबार
काठमाडौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार चिलीका राष्ट्रपति गेब्रियल बोरिक फोन्तसँग हैदराबाद हाउसमा भेटवार्ता गरे। संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले आतङ्कवाद र सङ्गठित अपराधको सामना गर्न दुवै देशले सहकार्यलाई अझ प्रगाढ बनाउने बताए।
प्रधानमन्त्री मोदीले भने,“हामी रक्षा उद्योग निर्माण तथा आपूर्ति शृङ्खला एक–अर्काका आवश्यकताअनुसार अघि बढाउने छौँ। सङ्गठित अपराध, लागूऔषध तस्करी र आतङ्कवादविरुद्ध दुई देशका निकायहरूबीच सहकार्य बढाउने छौँ।”
उनले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद (युएनएससी) र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको सुधार आवश्यक रहेकोमा पनि जोड दिए। “वैश्विक चुनौतीहरूको सामना गर्न युएनएससी तथा अन्य संस्थाहरूमा सुधार आवश्यक छ। हामी मिलेर विश्व शान्ति र स्थायित्वमा योगदान दिन्छौँ,” उनले भने।
प्रधानमन्त्री मोदीले भारत र चिली भौगोलिक रूपमा टाढा भए पनि दुवै देश प्रकृतिद्वारा एकअर्कासँग जोडिएको बताए। “भारत र चिली फरक महाद्वीपमा भए पनि हिमालय र एन्डीज पर्वतहरूले हाम्रो सभ्यता निर्माण गरेका छन्। भारतीय महासागरको छालहरू जस्तै प्रशान्त महासागरको छालहरू चिलीको किनारामा उस्तै तरङ्गित छन्,” उनले भने।
उनले चिलीमा भारतीय चलचित्र र संस्कृति प्रति बढ्दो रुचि सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण सङ्केत भएको बताए। “भारत र चिली प्रकृतिले मात्र होइन, संस्कृतिले पनि जोडिएका छन्। भारतीय चलचित्र र शास्त्रीय नृत्यप्रति चिलीका जनताको चासो हाम्रो सांस्कृतिक सम्बन्धको प्रमाण हो। आज सम्पन्न सांस्कृतिक आदानप्रदान कार्यक्रमको सम्झौताले यस सम्बन्धलाई थप बलियो बनाउनेछ,” उनले भने।
प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई अझ सहज बनाउन भिसा प्रक्रिया सरल पार्ने र विद्यार्थी आदानप्रदान कार्यक्रम विस्तार गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए। “हामी दुई देशबीचको भिसा प्रक्रिया अझ सरल बनाउनेछौँ । साथै, भारत र चिलीबीच विद्यार्थी आदानप्रदान कार्यक्रमलाई प्रवद्र्धन गर्न निरन्तर प्रयास गर्नेछौँ।” रासस/एएनआई
प्रकाशित: २० चैत्र २०८१, बुधबार