एआईका प्रयासहरुलाई चुस्त बनाउन सफ्टब्याङ्कको नेतृत्वमा भएको फण्डिङ राउण्डमा ४० अर्ब डलर उठाउँदै ओपनएआई

Technology Khabar २० चैत्र २०८१, बुधबार

काठमाडौं ।

ओपनएआईले नयाँ लगानी चरणमा सफ्टब्याङ्क ग्रुपको नेतृत्वमा ४० अर्ब डलरसम्मको लगानी संकलन गर्ने सोमबार घोषणा गरेको छ। यो लगानी ओपनएआईको कृत्रिम बुद्धिमत्ता (एआई) अनुसन्धान अघि बढाउन, कम्प्युटेशनल पूर्वाधार विस्तार गर्न र उपकरण सुधार गर्न प्रयोग गरिनेछ।

जापानी प्रविधि लगानी समूह सफ्टब्याङ्कले अप्रिल मध्यमा ओपनएआई  लाई १० अर्ब डलर लगानी गर्ने र डिसेम्बरमा थप ३० अर्ब डलर दिने एक विज्ञप्तिमा जनाएको छ। तर, यो लगानी ओपनएआई  ले वर्षको अन्त्यसम्म नाफामुखी मोडेलमा परिवर्तन गरेमा मात्र हुनेछ।

सफ्टब्याङ्कले आफ्नो कुल लगानीमध्ये १० अर्ब डलर अन्य सह-लगानीकर्ताहरूलाई हस्तान्तरण गर्ने योजना बनाएको छ। बाँकी लगानी माइक्रोसफ्ट, कोट्यु म्यानेजमेन्ट, अल्टिमिटर क्यापिटल र थ्राइभ क्यापिटलबाट आउने बताइएको छ।

यदि ओपनएआईको पुनर्रचना असफल भएमा सफ्टब्याङ्क को कुल लगानी घटेर २० अर्ब डलरमा सीमित हुनेछ। ओपनएआईले हप्तामा ५० करोड प्रयोगकर्ताले प्रयोग गर्ने च्याटजीपीटीको लागि अझ शक्तिशाली उपकरणहरू उपलब्ध गराउने लक्ष्य राखेको छ।

रोयटर्सका अनुसार हालका वर्षहरूमा कृत्रिम बुद्धिमत्ता क्षेत्रमा लगानीकर्ताको रुचि तीव्र रूपमा बढेको छ। च्याटबटको व्यापक प्रयोग र उन्नत एआई  एजेन्टहरूको आगमनले लगानीकर्ताहरूको आकर्षण बढाएको छ।

व्यवसायहरूले एआई  समाधानहरू अपनाएर आफ्नो सञ्चालन सरल बनाइरहेका छन् भने भेन्चर क्यापिटल फर्महरू आशाजनक एआई  स्टार्टअपहरूमा लगानी गर्न प्रतिस्पर्धा गरिरहेका छन्।

सान फ्रान्सिस्कोमा आधारित ओपनएआईले अघिल्लो वर्ष अक्टोबरमा ६.६ अर्ब डलर लगानी संकलन गरेको थियो, जसले कम्पनीको मूल्यांकन १५७ अर्ब डलर पुर्‍याएको थियो। नयाँ लगानी चरणपछि ओपनएआईको मूल्यांकन झन्डै दोब्बर हुनेछ।

प्रकाशित: २० चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया