Technology Khabar १६ चैत्र २०८१, शनिबार
काठमाडौं ।
नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या २०८१ फागुन मसान्तसम्म २ करोड ६० लाख ३ हजार ५४३ रहेको छ।
यो सङ्ख्या चालु आर्थिक वर्षको सो अवधिसम्म टुजी, थ्रीजी र फोरजी सेवा लिनेहरु मोबाइल ब्रवडब्याण्ड प्रयोगकर्ताको समग्र आँकडा हो।
हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८१ फागुन मसान्तसम्मको तथ्यांक अनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या अघिल्लो महिना अर्थात् माघको तुलनामा १ लाख १४ हजार ३६० ले घटेको हो। यो सङ्ख्या पुसबाट माघ मसान्तसम्म आइपुग्ने क्रममा भने उल्लेख्य १ लाख १८ हजार हाराहारीले बढेको थियो।
२०८१ फागुन महिनाको समग्र २ करोड ६० लाख ३ हजार ५४२ ग्राहकमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ करोड ४१ लाख १२ हजार ५९४ रहेको छ।
यो सङ्ख्यामा टुजीका प्रयोगकर्ता शून्य छ भने थ्रीजीका ७ लाख ५४ हजार ८२५ तथा फोरजीका १ करोड ३३ लाख ५७ हजार ७६९ समावेश छन्।
तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड, १८ लाख, ९० हजार ९४८ रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता १ लाख ३२ हजार ९४८ र फोरजी १ करोड १७ लाख ५८ हजार रहेका छन्।
फोरजी: नेपाल टेलिकम र एनसेलले दुवैले गुमाए
माघ महिनाको तुलनामा फागुन मसान्तसम्म नेपाल टेलिकमले र एनसेल दुवैले फोरजी सेवा लिने ग्राहक गुमाएका छन्।
फोरजीका हकमा १ महिनामा नेपाल टेलिकमले १७ हजार १९२ ग्राहक गुमाएको छ। यस्तै एनसेलले ६४ हजार ३५० ग्राहक गुमाएको प्रतिवेदनले देखाएको छ।
थ्रीजी: टेलिकमले थप्यो, एनसेलले गुमायो
२०८१ फागुन महिनासम्ममा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या अघिल्लो महिनाको तुलनामा २७ हजार ७७५ गुमाएको छ। हाल नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ७ लाख ५४ हजार ८२५ पुगेका छन्। यो आकडा माघ मसान्तसम्म ७ लाख ८२ हजार ३०० रहेको थियो।
एनसेलले पनि ५ हजार ६१३ ग्राहक गुमाउँदै समग्रमा आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या १ लाख ३२ हजार ९४८ मा झारेको छ। यो आँकडा माघ महिनासम्म १ लाख ३८ हजार ५६१ रहेको थियो।
प्रकाशित: १६ चैत्र २०८१, शनिबार