कर्णालीका ७२ पालिकामा नेपाल टेलिकमको ‘फोरजी’ सेवा विस्तार

  • Technology Khabar | १५ चैत्र २०८१, शुक्रबार
कर्णालीका ७२ पालिकामा नेपाल टेलिकमको ‘फोरजी’ सेवा विस्तार

काठमाडौं ।

कर्णालीका ७२ पालिकामा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेको छ। ७९ वटा स्थानीय तह रहेको प्रदेशका अधिकांश पालिकामा फोरजी सेवा पुगिसकेको छ। अब सात वटा पालिका बाँकी छन्।

डोल्पा र हुम्ला जिल्लाका गरी सात वटा पालिकामा फोरजी सेवा पुग्न बाँकी छ। नेपालमै पहिलो पटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वको कम्पनीले कर्णालीका ७२ पालिकामा सेवा विस्तार गरेको हो।

सेवा क्षेत्र विस्तारको काम धमाधम भइरहेको नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेतले जनाएको छ। प्रदेशका १० वटै जिल्लामा सरकारी स्वामित्वको फोरजी सेवा पुगेको छ।

सुर्खेत क्षेत्रभरि ७० ठाउँमा मोबाइल सेवाका लागि फोरजी सेवाका टावर निर्माण गरिएको प्रादेशिक कार्यालयका प्राविधिक प्रमुख मधुसुदन दाहालले बताए।

दैलेखमा ३०, डोल्पामा १०, हुम्लामा छ, जाजरकोट र जुम्लामा २१/ २१ कालोकोटमा २२ रुकुमपरिचनमा १२ सल्यानमा ४० ठाउँमा फोरजी सेवाका लागि टावर निर्माण गरिएको छ।

जिल्ला जिल्लाको जनसल्याका आधारमा फोरजी सेवा विस्तार गरिएको दाहालले जानकारी दिए। अब बाँकी रहेका सात वटा पालिकामा फोरजीका सय वटा टावर निर्माण गरिने उनले बताए।

विकास र उत्पादनमा प्रविधिको प्रयोगका रूपमा फोरजी सेवालाई विस्तार गर्न लागिएको जनाइएको छ । प्रयोगकर्ता बढेसँगै फोरजी सेवा विस्तारको काम तीव्र गतिमा अधि बढेको हो।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका प्रमुख कमल लामिछानेले सेवा सुधारका लागि बजेट र कार्यक्रमको व्यवस्थापन भइरहेको जानकारी दिए। डिजिटल कर्णाली निर्माण गर्ने गरी काम अघि बढाइएको उनको भनाइ छ।

एडिएसएल, इभिडिओ, निजी डाटा, बाइम्याक्स, फाइबर इन्टरनेट, डिएसएल इन्टरनेट, स्काइडाटा जिपिआरएस. डाइअफ इन्टरनेटलगायत सेवा उपलब्ध गराउँदै आएको टेलिकमले आगामी दिनमा यो सबै सेवालाई थप गुणस्तरीय बनाउँदै प्रदेशभर विस्तार गर्ने योजना बनाएको छ।

कर्णालीका अधिकांश स्थानमा अहिले पनि टेलिफोनले काम गर्दैन। नेटवर्कको सिग्नल भएपनि फोनले काम नगर्ने गरेको गुनासो बढिरहेको छ। सेवा विस्तारसँगै सबै क्षेत्रसँग छलफल गरेर सेवालाई प्रभावकारी बनाउन लागिएको निर्देशनालयले जनाएको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: १५ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार