Technology Khabar १३ चैत्र २०८१, बुधबार
काठमाडौं ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुनले आफ्नो आत्मकथाको पुस्तक बिक्री गर्न थालेको १ वर्ष पूरा भएकै दिन व्यक्तिगत यूट्युब च्यानल सञ्चालनमा ल्याएका छन्।
आविष्कार केन्द्रका लागि आवश्यक रकम जुटाउन आफ्नो आत्मकथाको पुस्तक बिक्री गर्न देशभर आफैं कुदिरहेका पुनले पुस्तक बिक्रीबाटै करोडौ रुपैयाँ संकलन गरी केन्द्र व्यवस्थापनमा प्रयोग गर्दै आएका छन्।
यसै क्रममा आफ्नो ‘छुट्टै र नगरी नहुने’ कामका लागि रकम आवश्यक भएकाले यूट्युब च्यानल खोलेको उनले बताएका छन्। उनले आफ्नो एक्स एकाउण्टमा हालै एउटा पोस्ट राख्दै उनले अरुले यूट्युब च्यानलबाट पैसा कमाएको देखेर आफूले पनि खोलेको र यसलाई हेरिदिन र सब्स्क्राइब गरिदिन सबैमा अनुरोध गरेका छन्।
उनको एक्स पोस्टमा लेखिएको छ, ‘लौ आयो https://m.youtube.com/watch?v=JItG6R5bDDo… मेरो आत्मकथाको किताब बेच्दै हिँडेको दिन मात्र आज ३६५ दिन अर्थात ठ्याक्कै एक वर्ष पुग्यो । यो अवधिमा २० हजार किलोमिटर भन्दा बढी बाटोको यात्रा गाडीमा गरियो र १ लाख ८० हजार भन्दा बढी किताब बेचियो। यहि विशेष दिन पारेर मैले मेरो युट्युब च्यानल खोलेको छु। मलाई सहयोग गर्न चाहनेहरूले मेरो च्यानल सब्सक्राईब (subscribe) गरि दिनु होला र हेरि दिनुहोला । मेरो छुट्टै र नगरी नहुने जिम्मेवारी पुरा गर्नको लागि केहि पैसा चाहिएकोले यो च्यानल खोलेको हो। मैले बिगत ३२ बर्ष सम्म कुनै जागीर खाएको छैन। अन्य कुनै आम्दानीको स्रोत छैन । अरुले Youtube बाट पैसा कमाएको देखेर मैले पनि केहि आम्दानीको श्रोत हुन्छ कि भनेर प्रयास गरेको हो। किताव बेचेर आएको सबै पैसा बीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्नमा जान्छ।धन्यवाद।’
यो समाचार तयार पारुञ्जेल उनको च्यानलमा ५ हजार ६ सय लाइक तथा १५ हजार ७ सय सब्स्क्राइबर रहेका छन्। जम्मा ८ ओटा भिडियो रहेको उनको च्यानलमा एउटा भिडियो १० वर्ष अगाडिको अन्नपूर्ण धौलागिरि ट्रेकिङको विषयमा रहेको छ।
अर्को हालै राखिएको ९ मिनेट १ सेकेण्डको भिडियोमा भने पुन हातमा आत्मकथा लिएर उक्त बिक्री गर्नुपरेको अवस्था तथाआफूले किन यूट्युब च्यानल खोलेको भन्नेबारेको विवरण आफैंले बोलिरहेका छन्। यो भिडियोलाई एक दिन अघि अर्थात् मंगलबार अपलोड गरिएको यो भिडियो ६० हजार जनाले हेरिसकेका छन्।
बाँकी दुईओटा भने ८ वर्षअघिको लाइभ भिडियो रहेका छन्। भिडियोको कमेन्टहरु सबै सकारात्मक र आवश्यक परेमा सहयोग गर्छौं भन्ने भावनाका रहेका छन्।
प्रकाशित: १३ चैत्र २०८१, बुधबार