Technology Khabar ११ चैत्र २०८१, सोमबार
काठमाडौं ।
राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले सेटिङ्गमा आफ्ना टेण्डरहरु दिने गरेको खुलेको छ। सरकारी बैंकले हाल खुलेका दुई टेन्डरहरु समेत मिलेमतोमा एउटै समूह वा ग्रुपका कम्पनीहरुलाई दिने गरेको खुलेको हो।
बैंकले हालसालै खुलाएका टेन्डरहरुमा विवादित कम्पनीहरुलाई समावेश गरेर एउटै समूहका कम्पनीहरुलाई ‘अवार्ड’ गर्ने गरेको भेटिएको छ।
राबाबैंकले २०८१ कात्तिक १३ गते खुलाएको टेन्डरमा सहभागी भएका दुबै कम्पनीहरु एउटै ग्रुपका रहेका छन्। बैंकले सप्लाई इन्स्टलेसन एण्ड कमिसनिङ्ग अफ सर्भर एण्ड एसएएन (SAN) विषयका लागि खुलाएको टेन्डरमा सर्भर र एसएएन खरिदका लागि छनोटमा परेका दुई कम्पनीहरु एउटै ग्रुपको भएको खुलासा भएको हो।
उक्त टेन्डरका लागि अस्ट्राल कम्प्युटर्स नेपाल प्रालि र ठकराल वन नेपाल प्रालि सहभागी हुन योग्य रहेको सार्वजनिक सूचनामा उल्लेख छ।
यी दुबै कम्पनीहरु दुई खाम विधिबाट प्रस्ताव मूल्यांकनमा सफल भएको उल्लेख छ र ती दुबै कम्पनीहरुको आर्थिक प्रस्ताव यहि चैत १ गते खुला गर्ने सूचनामा उल्लेख छ।
यस्तै अर्को टेन्डरमा पनि माथि उल्लेख गरिएको कम्पनि मध्ये एक कम्पनी नै छनोट भएको देखिन्छ।
बैंकले माइक्रोसफ्टको भोलुम लाइसेन्स खरिदका लागि मागेको टेन्डरमा पनि अस्ट्राल कम्प्युटर्स नेपाल प्रालि प्राविधिक प्रस्तावमा योग्य भएको र यसका साथै अर्को कम्पनी आईड्रीम टेक्नोलोजीज प्रालि समेत आर्थिक प्रस्तावमा योग्य भएको देखिन्छ।
उक्त टेन्डरको आर्थिक प्रस्ताव भने आईड्रीम टेक्नोलोजीज प्रालिले दुई करोड एकतीस लाख पैसठ्ठी हजार एक सय पचहत्तर रुपैयाँमा हात पारेको देखिन्छ।
हेर्दा यी कम्पनीहरुले राष्ट्रिय बाणिज्य बैंकले खुलाएको टेन्डरमा प्रतिस्पर्धा गरेर ठेक्का पाएको देखिन्छ तर यी सबै कम्पनीहरुले भने मिलेमतोमा टेन्डर हाल्ने र एक आपसमा ठेक्का मिलेर लिने गरेको स्रोतको दाबी छ।
सूचना प्रविधि क्षेत्रमा कार्यरत स्रोतले दिएको जानकारी अनुसार अस्ट्राल कम्प्युटर्स नेपाल प्रालि र ठकराल वन नेपाल प्रालि एकै ग्रुप “ठकराल” आवद्ध रहेका फरक कम्पनीहरु हुन्। यी दुबै कम्पनीहरुले सो बैंकमा मात्र नभई सरकारी कयौं ठेक्काहरु मिलेमतोमा लिने गरेका छन्।
यस बाहेक सोही ग्रुपले आवश्यकताअनुसार आफ्ना ग्याङ्गका अन्य कम्पनीहरुलाई टेन्डरमा सहभागी गराउने र मिलेमतोमा ठेक्का हात पार्ने गरेको बताईएको छ।
बैंकले फरक समयमा फरक विषयमा गरेका यी दुई टेन्डर हेर्दा समेत त्यस्तै देखिन्छ। एउटा टेन्डरमा ठकरालकै दुई कम्पनीहरु सहभागी रहेका छन भने अर्को टेन्डरमा ठकरालको एउटा कम्पनी र अर्को फरक कम्पनीलाई सहभागी गराईएको छ।
बैंक स्रोतकाअनुसार यी टेन्डरहरु मिलेमतोमा हाल्ने र लाने वर्षौंदेखिको खेल भईरहेको छ। “पछिल्लो समय आफ्नो अनुकल ‘स्पेक’ र ‘भेण्डर लक’ गराएर टेन्डर खुलाउने र आफ्नो ग्याङ्गका कम्पनीहरुलाई मात्र दिने कार्य बढीरहेको छ,” बैंक स्रोतले भन्यो, “यसमा टेन्डरको डकुमेन्ट बनाउँदा देखिनै चलखेल भएको देखिन्छ।”
अझ रोचक कुरा के भने उक्त टेन्डरमा योग्य भएका कम्पनीहरु अस्ट्राल कम्प्युटर्स नेपाल प्रालि र ठकराल वन नेपाल प्रालि दुबै अख्तियार दूरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका कम्पनीहरु हुन्। यी कम्पनीहरु विशेष अदालतमा दायर एक मुद्दामा समेत आरोपी हुन्।
ठकराल भारतिय कम्पनी ठकरालको नेपाली छायाँ कम्पनीको रुपमा कार्यरत रहेको छ भने अस्ट्राल कम्प्युटर्स नेपाल प्रालि सोही ग्रुप अन्तरगतको अर्को कम्पनी हो। यी दुबै कम्पनीमा कृष्ण गिरी प्रमुख व्यक्ति हुन।
ठकराल वन नेपाल प्रालिमा गिरी प्रमुख कार्यकारी अधिकृत अर्थात सीईओ नियुक्त छन भने अस्ट्रालमा उनी अध्यक्ष पदमा कार्यरत रहेका छन्।
गिरी हाल यस्तै किसिमको ठेक्का प्रकृयामा भ्रष्ट्राचार काण्डमा परेर अख्तियारमा बयान दिईरहेका छन् र उनी कार्यरत दुबै कम्पनीहरु छानबिनमा छन्।
यी कम्पनीहरुको मिलेमतोमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन सीईओ सुनिल पौडेलले करोडौंको भ्रष्ट्राचार गरेको विषयको मुद्दा अदालतमा विचाराधिन छ। यी दुबै कम्पनीहरुले पौडेललाई सेक्यूरिटी एप्लाइन्स र नेटवर्क उपकरणको ठेक्कामा तत्कालिन समयमा ३ करोड ८ लाख भन्दा धेरै रकम अमेरिका र भारतको खातामा पठाएको अख्तियारले उल्लेख गरेको छ। यसको लागि भारतीय नागरिक दिपक आनन्दको समेत सहभागिता रहेको देखिन्छ। उनैले त्यस समय पौडेलसँग सेटिङ्गमा टेन्डर गराएर पौडेललाई घुसको रकम दिएका थिए। जसमा कृष्ण गिरी नेपालबाट मुख्य मतियार भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।
तर तीनै कम्पनीहरुलाई राष्ट्रिय बाणिज्य बैंकका अधिकारीहरुले मिलेमतोमा ठेक्का दिईरहेको देखिन्छ।
यसअघि, दुई वर्ष अगाडि, राष्ट्रिय बाणिज्य बैंकले कोर बैंकिङ्गको सिस्टम बनाउनका लागि गरेको संक्षिप्त सूचीमा समेत अन्य विवादित कम्पनीहरु सहित ठकराल वन नेपाललाई राखिएको देखिन्छ।
प्रकाशित: ११ चैत्र २०८१, सोमबार