Technology Khabar ८ चैत्र २०८१, शुक्रबार
काठमाडौं ।
चिनियाँ कृत्रिम बुद्धिमता एआई (एआई) स्टार्टअप म्यानसले बिहीबार चीनमा लक्षित आफ्नो एआई सहायक दर्ता गरेको छ। साथै, पहिलो पटक चिनियाँ राज्य सञ्चारमाध्यमको प्रसारणमा म्यानसलाई स्थान दिइएको छ। यसले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएका स्वदेशी एआई कम्पनीहरूलाई प्रवर्द्धन गर्ने बेइजिङको रणनीति झल्काउँछ।
चीनको डीपसिकले अमेरिकी प्रतिस्पर्धीसँग तुलनीय एआई मोडेलहरू थोरै लागतमा विकास गरी सार्वजनिक गरेपछि सिलिकन भ्यालीलाई आश्चर्यचकित पारेको थियो। त्यसयता, चिनियाँ लगानीकर्ताहरूले विश्वव्यापी प्रविधि क्रमलाई उल्ट्याउने सम्भावना बोकेको अर्को स्वदेशी स्टार्टअपको खोजी गरिरहेका छन्।
कतिपयले म्यानसलाई त्यस्तो सम्भावना बोकेको कम्पनीका रूपमा हेरिरहेका छन्। केही हप्ता अगाडि म्यानसले एक्स (पहिलेको ट्विटर) मा भाइरल हुँदै आफूले विश्वको पहिलो ‘जनरल एआई एजेन्ट’ सार्वजनिक गरेको दावी गर्यो। यो एआई एजेन्ट निर्णय गर्न र कामहरू स्वतः सम्पन्न गर्न सक्षम छ, जसलाई च्याटजीपीटी र डीपसिकजस्ता एआई च्याटबटहरूभन्दा निकै कम ‘प्रम्प्टिङ’ आवश्यक पर्छ।
रोयटर्सका अनुसार अब बेइजिङले म्यानसलाई चीनमा समर्थन गर्ने संकेत देखाएको छ। बिहीबार चिनियाँ राज्य प्रसारक सीसीटीभीले पहिलो पटक म्यानसलाई टेलिभिजनमा स्थान दिँदै यसको एआई एजेन्ट र डीपसिकको एआई च्याटबटबीचको भिन्नता दर्शाउने भिडियो प्रकाशित गर्यो।
बेइजिङ नगर सरकारले बिहीबार म्यानसको पहिल्यैको एउटा उत्पादन, ‘मोनिका’ नामक एआई सहायकको चिनियाँ संस्करणले चीनमा ‘जेनेरेटिभ एआई एप्स’ दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गरेको घोषणा गर्यो। यसले म्यानसका लागि महत्त्वपूर्ण नियामक अवरोध हटाएको छ।
चिनियाँ नियामकहरूले देशमा सार्वजनिक गरिने सबै जेनेरेटिभ एआई एप्लिकेसनहरू कडा नियमहरू पालना गर्नुपर्ने प्रावधान राखेका छन्। यसको उद्देश्य यस्ता उत्पादनहरूले बेइजिङले संवेदनशील वा हानिकारक मान्ने सामग्री उत्पन्न नगर्ने सुनिश्चित गर्नु हो।
गत हप्ता म्यानसले चिनियाँ प्रविधि कम्पनी अलीबाबाको ‘क्वेन एआई मोडेल’ विकास गर्ने टोलीसँग रणनीतिक साझेदारीको घोषणा गरेको थियो।
स्टार्टअपका अनुसार, हाल म्यानसको एआई एजेन्ट केवल निमन्त्रणा कोड भएका प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध छ, र यसको प्रतीक्षा सूचीमा २० लाख प्रयोगकर्ता छन्। यो साझेदारीले म्यानसको एआई एजेन्टलाई चीनमा तीव्र रूपमा विस्तार गर्न मद्दत गर्ने अपेक्षा गरिएको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: ८ चैत्र २०८१, शुक्रबार