सहमति विपरित निर्देशिका ल्याएको भन्दै युनियनले च्यात्यो दूरसञ्चार प्राधिकरणको माइन्यूट

  • Technology Khabar | १८ फाल्गुन २०८१, आईतवार
सहमति विपरित निर्देशिका ल्याएको भन्दै युनियनले च्यात्यो दूरसञ्चार प्राधिकरणको माइन्यूट

काठमाडौं ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा कार्यरत कर्मचारीहरुको युनियनहरु र बोर्डका बिचमा विवाद उत्पन्न भएको छ।

दुबै पक्षबिच विवाद भएसँगै हाल सक्रिय रहेका दुई युनियनहरुले आफूसँग गरेका सहमति विपरित निर्णय गरिएको भन्दै बोर्ड माइन्यूट नै च्यातिदिएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरण, स्वतन्त्र कर्मचारी युनियन र  प्राविधिक कर्मचारीहरुको युनियनले संयुक्तरुपमा नै बोर्ड माइन्यूट च्यातिदिएका हुन्।उनीहरुले बिहिबार माइन्यूट च्यातेर विरोध जनाएको बताएका छन्।

“हामीसँग गरिएका सहमति विपरित कर्मचारीको भ्रमण निर्देशिका ल्याएपछि माइन्यूट च्यातिदिएका हौं,” युनियनमा आबद्ध एक कर्मचारीले भने।

यसअघि प्राधिकरण व्यवस्थापनले दुबै कर्मचारी युनियनले गरेको आन्दोलन रोक्न विभिन्न बुँदाहरुमा सहमति गरेको थियो। तर कर्मचारी युनियनले हालसम्म ति सहमतिहरु पालना नभएको जानकारी दिएको छ। सोही कारण माइन्यूट च्यातिदिएको बताएका छन्।

उनीहरुले सहमति भएअनुसार छलफल गरेर मात्र कानूनी संसोधन गर्नुपर्ने माग गरेका छन्। युनियनहरुले हालको “फोर्स लिभ”मा पाईने सुबिधालाई थप बढाउनुपर्ने माग गरेका थिए।

युनियनहरुको मागको साटो बोर्डले फोर्स लिभ लिन पाईने समयावधि मात्र बढाएको थियो। युनियनहरुले ‘फोर्स लिभ’ अर्थात (अनिवार्य भ्रमण बिदा) मा पाईने १ महिना तलब बराबरको सुबिधालाई दोब्बर बनाउन माग गरेका थिए।

तर बोर्डले भने हरेक वर्ष चैत मसान्तसम्म लिन पाईने ‘फोर्स लिभ’को अवधिलाई बढाएर जेठ मसान्तसम्म पुर्याएको थियो।

सोही विषयमा युनियनहरु र बोर्ड बिच विवाद हुँदा माइन्यूट च्यातिदिएका हुन्।

के छ विनियमावलीमा ?

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको (सेवाका शर्त सम्बन्धी) विनियमावली, २०७६ अनुसार प्राधिकरणले आफ्ना कर्मचारीहरुलाई अनिवार्य भ्रमण विदाको सुबिधा दिएको छ।

विनियम बुँदा १०० मा कर्मचारीले प्रत्येक वर्ष सात दिन आन्तरीक भ्रमणको लागि अनिवार्य भ्रमण विदा पाउन सक्ने उल्लेख छ र यस्ताो अनिवार्य भ्रमण विदा वर्षमा एकै पटक लिनु पर्नेछ।

यसैगरी अनिवार्य भ्रमण विदा संचित गरी अर्को वर्ष लिन नपाइने र यसरी अनिवार्य भ्रमण विदामा जाने कर्मचारीको लागि प्रदान गर्ने सुविधा प्राधिकरणवाट तोकिए बमोजिम हुने उल्लेख छ।

प्रकाशित: १८ फाल्गुन २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...