Technology Khabar १४ फाल्गुन २०८१, बुधबार
काठमाडौं ।
हालसम्म टेलिफोन र इन्टरनेटको समस्या भोगिरिहेको हुम्लाको अदानचुली गाउँपालिकाका स्थानीयबासीलाई नेपाल टेलिकमको फोर जो सेवा सञ्चालनमा आएपछि सहज भएको छ। फोरजी सेवाको टावरमा मेसिन जडान गरेपछि इन्टरनेट सेवा सञ्चालनमा आएको हो।
दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा फोर जी सेवा सञ्चालनमा आएको नेपाल टेलिकम हुम्ला शाखाका प्रमुख रिजो आङ्मु लामाले बताए। अदानचुली र सर्केगाड गाउँपालिकाको बिच भाग व्याममा निर्माणाधीन टावर सञ्चालनमा आउँदा स्थानीयलाई सहज भएको छ।
सम्बन्धित समाचार:
हुम्लाको अदानचुली गाउँपालिका स्थित कालिकामा नेपाल टेलिकमको फोरजी तथा टूजी सेवा सञ्चालन
दुर्गम गाउँमा फोर जी सेवा सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा जिल्लाका आसपासका सबै गाउँमा फोर जी सेवा सञ्चालन भएको उनले बताए।
गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर भिडियो कलदेखि अन्य इन्टरनेटसम्बन्धी काम गरिरहेका त्यहाँका स्थानीयलाई अब भने घरमै बसेर भिडियो कल गर्न र फोन गर्न सहज भएको बताउनुभयो। यसबाट स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्यसम्पादनमा समेत सहज भएको उनले जनाए।
फोर जी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन तथा सूचना आदानप्रदानको कामसमेत सहज हुने उनको भनाई छ। उनले आफू निर्वाचित भएदेखि नै सो टावर निर्माणका लागि काठमाडौँमा नेपाल टेलिकममा धाउँदा धाउँदा बल्ल त्यसको प्रतिफल मिलेको बताए।
प्रकाशित: १४ फाल्गुन २०८१, बुधबार