Technology Khabar १४ फाल्गुन २०८१, बुधबार
काठमाडौं ।
एप्पलले २०२६ सम्म टेक्सासमा २,५०,००० वर्गफुटको कारखाना सञ्चालनमा ल्याउन मद्दत गर्ने योजना बनाएको सोमबार घोषणा गरेको छ। यो कारखानामा एआई सर्भर निर्माण गरिनेछ। साथै कम्पनीले अमेरिका भर २०,००० अनुसन्धान तथा विकास रोजगार थप्ने बताएको छ।
एप्पलले आगामी चार वर्षमा अमेरिकामा ५०० डलर अर्ब खर्च गर्ने योजना सुनाएको छ। यो रकम अमेरिकी आपूर्तिकर्ताहरूबाट गरिने खरिददेखि लिएर एप्पल टीभी प्लस सेवाका लागि अमेरिका भित्र गरिने टेलिभिजन कार्यक्रम तथा चलचित्र छायांकनसम्म समेटिन्छ।
रोयटर्सका अनुसार कम्पनीले यसअघिदेखि नै अमेरिकी आपूर्तिकर्ताहरूसँग खर्च गर्ने रकम खुलाएको छैन, जसमा आईफोनका लागि केन्टकीमा ग्लास उत्पादन गर्ने कर्निङजस्ता कम्पनीहरू समावेश छन्।
यो घोषणाअघि मिडिया रिपोर्टहरूमा एप्पलका प्रमुख कार्यकारी टिम कुकले गत हप्ता राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका बताइएको थियो। हालै ट्रम्पले चीनमा एसेम्बल गरिएका उत्पादनहरूमा १० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए, जसले एप्पलका धेरै उत्पादनहरू प्रभावित हुन सक्नेछन्। यद्यपि, पहिलो ट्रम्प प्रशासनको समयमा एप्पलले केही चीन ट्यारिफ छूट पाएको थियो।
एप्पलले पहिलो ट्रम्प प्रशासनको समयमा पनि अमेरिकी लगानी योजना सार्वजनिक गरेको थियो, जसमा पाँच वर्षमा ३५० अर्ब डलर खर्च गर्ने बताइएको थियो।
एप्पलका अधिकांश उपभोक्ता उत्पादनहरू अमेरिका बाहिर एसेम्बल गरिन्छन्, तर धेरै कम्पोनेन्टहरू भने अमेरिका मै बनाइन्छन्। ब्रोडकम, स्काइवर्क्स सोलुशन्स र कोर्भोजस्ता कम्पनीहरूले एप्पलका लागि चिप्स उत्पादन गर्छन्।
एप्पलले गएको महिना ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीको एरिजोनामा रहेको कारखानामा आफ्नै डिजाइनका चिप्सको उत्पादन सुरू गरेको बताएको छ।
टीएसएमसीलाई एरिजोनामा ल्याउनु र अमेरिकी सेमीकन्डक्टर उत्पादनलाई बढावा दिन सीएचआईपीएस ऐन ल्याउन मद्दत गर्नु ट्रम्प प्रशासनका मुख्य औद्योगिक नीतिहरू मध्ये एक थियो।
एप्पलले होन हाई प्रिसिजन इण्डस्ट्री अर्थात् फक्सकनसँग मिलेर ह्युस्टनमा २,५०,००० वर्गफुटको कारखाना बनाउने सोमबार घोषणा गरेको छ। यहाँ डाटा सेन्टरका लागि एप्पल इन्टेलिजेन्स सर्भरहरू एसेम्बल गरिनेछन्। हाल यी सर्भरहरू अमेरिका बाहिर उत्पादन गरिन्छन्।
एप्पलले आफ्नो ‘एडभान्स्ड म्यानुफ्याक्चरिङ फण्ड’ को रकम ५ अर्ब डलरबाट १० अर्ब डलर पुर्याउने योजना बनाएको छ। यस विस्तारको एक हिस्सा टीएसएमसीको एरिजोना कारखानामा उन्नत सिलिकन उत्पादन गर्नका लागि ‘बहु-अर्ब डलर प्रतिबद्धता’ रहनेछ।
कम्पनीले टीएसएमसीसँगको सम्झौताको विस्तृत विवरण खुलाएको छैन तर यसअघि एप्पलले आफ्ना आपूर्तिकर्ताहरूलाई आवश्यक पूर्वाधार बनाउन सहयोग गर्न यो कोष प्रयोग गरेको थियो।
एप्पलले मिशिगनमा नयाँ ‘म्यानुफ्याक्चरिङ एकाडेमी’ खोल्ने योजना बनाएको छ। यहाँ एप्पलका इन्जिनियरहरू स्थानीय विश्वविद्यालयका शिक्षकहरूसँग मिलेर साना तथा मध्यम आकारका निर्माण कम्पनीहरूका लागि परियोजना व्यवस्थापन तथा निर्माण प्रक्रिया सुधार जस्ता क्षेत्रमा निःशुल्क पाठ्यक्रम प्रदान गर्नेछन्।
प्रकाशित: १४ फाल्गुन २०८१, बुधबार