मस्कको कम्पनी एक्सएआईले जारी गर्यो आफ्नो फ्ल्यागशिप एआई मोडेल ग्रोक ३

Technology Khabar ६ फाल्गुन २०८१, मंगलवार

काठमाडौं ।

ईलन मस्क ईलन मस्कको एआई कम्पनी एक्सएआईले सोमबार अबेर आफ्नो नयाँ फ्ल्यागशिप एआई मोडेल ग्रोक ३ सार्वजनिक गरेको छ। यसबाहेक कम्पनीले ग्रोक आईओएस तथा वेब एपहरूका लागि नयाँ क्षमताहरू प्रस्तुत गरेको छ।

ग्रोक ओपनएआईको जीपीटी-४ओ र गुगलको जेमिनीसँग प्रतिस्पर्धा गर्न बनाइएको एक्सएआईको मोडेल हो। यो फोटोहरू विश्लेषण गर्न र प्रश्नहरूको उत्तर दिन सक्षम छ, साथै मस्कको सामाजिक सञ्जाल एक्समा विभिन्न सुविधाहरू सञ्चालन गर्छ। ग्रोक३ केही महिनादेखि विकास भइरहेको थियो र २०२४ मा रिलिज गर्ने योजना थियो, तर कम्पनीले त्यो समयसीमा पूरा गर्न सकेन।

एक्सएआईले मेम्फिसमा रहेको ठूलो डाटा सेन्टर प्रयोग गरेर ग्रोक ३ को प्रशिक्षण गरेको छ, जसमा करिब २ लाख जीपीयूहरू छन्। मस्कले एक्समा पोस्ट गर्दै ग्रोक ३ लाई ग्रोक २ भन्दा “१० गुणा बढी कम्प्युटिङ पावर” प्रयोग गरेर विकास गरिएको बताएका छन्। उनले भनेअनुसार यस मोडेलको प्रशिक्षण डाटासेटमा अदालतका फाइलिङहरू समेत समावेश रहेका टेकक्रञ्चले उल्लेख गरेको छ।

“ग्रोक ३, ग्रोक २ भन्दा धेरै गुणा शक्तिशाली छ,” मस्कले सोमबारको लाइभ प्रस्तुतीकरणमा भने। “[यो] अधिकतम सत्य खोज्ने एआई हो, जसले कहिलेकाहीँ राजनीतिक रूपमा सही नहुन सक्ने सत्यहरू पनि बताउँछ।”

ग्रोक ३ वास्तवमा मोडेलहरूको परिवार हो। यसको सानो संस्करण, ग्रोक ३ मिनी, प्रश्नहरूको उत्तर छिटो दिन सक्षम छ, तर यसले केही शुद्धता गुमाउँछ। सबै मोडेलहरू र ग्रोक ३ का विशेषताहरू अहिलेसम्म उपलब्ध छैनन्, तर सोमबारदेखि क्रमशः उपलब्ध हुन थालेका छन्।

एक्सएआईको दावी अनुसार ग्रोक ३ ले एआईएमई (गणितसम्बन्धी प्रश्नहरूको मूल्यांकन गर्ने परीक्षण) र जीपीक्यूए (पिएचडीस्तरका भौतिकी, जीवविज्ञान, र रसायनशास्त्रका प्रश्नहरू मूल्यांकन गर्ने परीक्षण) मा जीपीटी ४ओलाई पछि पारेको छ।

प्रारम्भिक परीक्षणअनुसार ग्रोक ३ ले च्याटबोट एरिनामा पनि प्रतिस्पर्धात्मक स्कोर प्राप्त गरेको छ, जहाँ विभिन्न एआई मोडेलहरूलाई एक-अर्कासँग तुलना गरिन्छ र प्रयोगकर्ताहरूले मनपरेका उत्तरहरूलाई भोट दिन्छन्।

नयाँ ग्रोक ३ परिवारभित्र ग्रोक ३ रिजनिङ र ग्रोक ३ मिनी रिजनिङ नामक दुई मोडेल छन्, जसले समस्याहरू “गम्भीर रूपमा विचार” गरेर समाधान गर्ने क्षमतामा सुधार ल्याएको छ। यी मोडेलहरू ओपनएआई को ओ३-मिनी र चिनियाँ एआई कम्पनी डीपसिकको आर१ जस्तै छन्। रिजनिङ मोडेलहरूले आफूले दिने उत्तरहरूलाई क्रस-चेक गरेर त्रुटिहरू कम गर्ने प्रयास गर्छन्।

प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया