Technology Khabar २८ माघ २०८१, सोमबार
काठमाडौं ।
भारतमा बैंकहरूको नाममा हुने डिजिटल ठगी रोक्न भारतीय रिजर्भ बैंक (आरबीआई) ले ठूलो तयारी गरेको छ। केन्द्रीय बैंकले सबै बैंकहरूको लागि एक विशेष ‘.bank.in’ इन्टरनेट डोमेन रोलआउटको घोषणा गरेको छ।
भारतीय मिडियाहरुका अनुसार, डिजिटल वित्तीय ठगी रोक्न यो घोषणा गरिएको हो। यसले गर्दा मानिसहरूलाई बैंकको वास्तविक र नक्कली वेबसाइट छुट्याउन सजिलो हुनेछ।
आरबीआईको यो घोषणा यस वर्षको अप्रिलदेखि लागू हुनेछ। सबै बैंकहरूलाई अप्रिलसम्ममा यो नयाँ डोमेनमा आउन आदेश दिइएको छ। आरबीआईका गभर्नर संजय मल्होत्राले यो कदमले ग्राहकहरूलाई बैंकको वास्तविक वेबसाइट पहिचान गर्न सजिलो बनाउने बताए। उनले डिजिटल ठगीका बढ्दो घटनाहरू चिन्ताको विषय भएको र सबै सरोकारवालाहरूले यस दिशामा कदम चाल्न आवश्यक रहेको बताए।
आरबीआईले वित्तीय क्षेत्रको लागि ‘fin.in’ डोमेन पनि सुरु गर्ने विचार गरिरहेको छ।
साइबर सुरक्षा सुदृढ पार्न बैंकहरूलाई अपिल
आफ्नो पहिलो नीतिगत बैठकमा, मल्होत्राले सबै बैंक र गैर-बैंकिङ वित्तीय संस्थाहरू (NBFCs) ले साइबर सुरक्षा जोखिम कम गर्न सुरक्षा सुधार गर्न आवश्यक भएको बताए। आरबीआईले भुक्तानी र बैंकिङ प्रणालीको डिजिटल सुरक्षालाई बलियो बनाउन निरन्तर कदम चालिरहेको उनले जानकारी दिएको रिपोर्टमा उल्लेख छ।
घरेलु डिजिटल भुक्तानीमा अतिरिक्त प्रमाणीकरण कारक (AFA) को परिचय यस्तै एक कदम हो। अब अन्तर्राष्ट्रिय डिजिटल भुक्तानीलाई पनि यसको दायरा भित्र ल्याउन सकिने बताईएको छ।
प्रकाशित: २८ माघ २०८१, सोमबार