
काठमाडौं ।
अनलाइनमा बालबालिकालाई सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले, टिकटकसँग सहकार्य गर्दै डिजिटल सुरक्षा तालिम संचालन गर्न १४ ओटा विद्यालयहरूसँग सम्झौता गरेको छ।
यस पहल अन्तर्गत कोशी, बागमती र गणडकी प्रदेशका सात जिल्लाहरू – सुनसरी, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर, तनहुँ, र कास्की जिल्लाका विद्यार्थी, शिक्षक, र अभिभावकहरूका लागि डिजिटल सुरक्षासम्बन्धी प्रशिक्षण तथा कार्यशालाहरू सञ्चालन गरिने जानकारी दिएको छ।
तालिम सञ्चालन गर्न पूर्व तयारी स्वरुप चाइल्डसेफनेटले काठमाडौँमा माघ १६ देखि १८ गतेसम्म एक तीनदिने दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो, जसमा १४ विद्यालयका प्रधानाध्यापकसहित २८ जना शिक्षकहरू सहभागी भएका थिए। उक्त प्रशिक्षणले शिक्षकहरूलाई डिजिटल सुरक्षा तालिम सत्र तथा कार्यशालाहरु प्रभावकारी रुपमा सँचालन गर्न आवश्यक ज्ञान र सीप प्रदान गरेको थियो।
सुरक्षित इन्टरनेट दिवस (११ फेब्रुअरी २०२५) को कार्यक्रमसँग संयोजन गर्दै प्रशिक्षित शिक्षकहरूले आआफ्ना स्कूल तथा समुदायहरुमा डिजिटल सुरक्षासम्बन्धी प्रशिक्षण सत्रहरू सञ्चालन गर्नेछन्।
डिजिटल सुरक्षा तालिमले विद्यार्थी, शिक्षक, र अभिभावकहरूलाई महत्वपूर्ण डिजिटल साक्षरता सीप प्रदान गरी बालबालिकाहरूका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्न सहयोग पुर्याउने अपेक्षा आयोजकले राखेको छ।
चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले प्रमुख प्रशिक्षकको रूपमा संचालन गरिएको प्रशिक्षक प्रशिक्षण कार्यशालामा बाल संरक्षणका अन्तर्राष्ट्रीय विज्ञ बिमल रावल, साइबर कानुन विशेषज्ञ तथा काठमाडौं स्कूल अफ लका सह-प्राध्यापक कपिल अर्याल तथा वरिष्ठ बाल मनोविद् रुपा प्रधान क्षेत्रीले सैध्दान्तिक र व्यवहारिक प्रशिक्षण दिएका थिए ।
यस कार्यक्रमबारे जानकारी दिँदै रघुवंशीले भने “आजको डिजिटल युगमा, बालबालिका र युवा पुस्तालाई इन्टरनेट पहुँच मात्र होइन, सुरक्षित रूपमा अनलाइन संसारमा नेभिगेट गर्न आवश्यक ज्ञान र सीप पनि आवश्यक छ।”
यस साझेदारीले नेपालका बालबालिकाहरू र युवाहरूका लागि सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने चाइल्डसेफनेटको प्रतिबद्धतालाई उजागर गर्दछ। चाइल्डसेफनेटले देशका चालिस भन्दा बढी जिल्लामा बालबालिकाको लागि डिजिटल सुरक्षा तालिम तथा सचेतना कार्यक्रमहरु सञ्चालन गरिसकेको जनाएको छ।
प्रकाशित: २० माघ २०८१, आईतवार