पहिलो पटक साउण्ड ब्यारियरलाई चिर्दै बूम सुपरसोनिकको एक्सबी-१ जेटले यसरी रच्यो ईतिहास

Technology Khabar १७ माघ २०८१, बिहीबार

काठमाडौं ।

बूम सुपरसोनिकको एक्सबी-१ जेटले मंगलबार (जनवरी २८) पहिलो पटक माक १ नामक साउण्ड ब्यारियर अर्थात् ध्वनि बाधा पार गर्दै इतिहास कायम गरेको छ।

कम्पनीका मुख्य परीक्षण पाइलट ट्रिस्टन “गेपेट्टो” ब्रान्डेनबर्गले क्यालिफोर्नियाको प्रसिद्ध मोजाभे एयर एण्ड स्पेस पोर्टबाट प्रायः खुला आकाशको वातावरणमा एक्सबी-१ उडान गराए।

उडानको ११.५ मिनेटमा, लगभग ३५,००० फिट (१०,६६८ मिटर) को उचाइमा, जेटले माक १ को गतिलाई पार गर्‍यो। एउटा नागरिक विमानले संयुक्त राज्यको भूभागमा सुपरसोनिक उडान गरेको यो पहिलो पटक हो।

स्पेस डटकमका अनुसार बूमका सल्लाहकार र पूर्व प्रमुख इन्जिनियर ग्रेग क्राउल्यान्डले कम्पनीको एक्स (पहिलेको ट्विटर) मा प्रत्यक्ष प्रसारणमा भने, “यो धेरै ठूलो कदम हो, अमेरिकामै पहिलो नागरिक सुपरसोनिक जेट निर्माण गर्ने। यो जेटमा ती प्राविधिक विशेषताहरू छन् जसले व्यावसायिक सुपरसोनिक एयरलाइन्सलाई सम्भव बनाउनेछ।”

एक्सबी-१ ले उडानको १७ र २२ मिनेटमा थप दुई पटक सुपरसोनिक गतिमा पुगेर सुपरसोनिक उडानका क्रममा जेटको प्रदर्शन परीक्षण गर्‍यो। यद्यपि, परीक्षणको लागि छुट्याइएको हवाई क्षेत्रको आकारले सुपरसोनिक गतिमा उडानको अवधि सीमित बनायो।

“आजको परीक्षण कति राम्रोसँग सम्पन्न भयो भनेर म धेरै उत्साहित छु,” क्राउल्यान्डले प्रत्यक्ष प्रसारणमा भने।

उडानलाई डासाउल्ट मिराज एफ१ लडाकु विमान र नर्थर्प टी-३८ ट्यालोन विमानले पछ्याउँदै निगरानी गरे। टी-३८ ट्यालोन त्यही विमान हो जसलाई नासाले आफ्ना अन्तरिक्षयात्रीहरूलाई प्रशिक्षण दिन प्रयोग गर्दछ।

एक्सबी-१ करिब ३० मिनेटको उडानपछि विशेष रूपमा डिजाइन गरिएको अवतरण गियरको प्रयोग गरेर अवतरण गरियो।

आजको परीक्षण उडान स्पेसएक्सको स्टारलिंक स्याटेलाइटबाट प्रसारित इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। टी-३८ विमानमा जडान गरिएको स्टारलिंक मिनी उपकरणले यो ऐतिहासिक क्षणको प्रत्यक्ष भिडियो दिन सक्षम बनायो।

“३१,००० फिटको उचाइमा ०.८ माकको गतिमा पनि ब्रोडब्यान्ड स्पीड प्राप्त गर्नु अविश्वसनीय छ। यो परीक्षण उडानको अनुभवलाई निकै प्रभावकारी बनाएको छ,” बूक सुपरसोनिकका प्रमुख उडान परीक्षण इन्जिनियर निक शेरीकाले भने।

एक्सबी-१ एक प्रविधि परीक्षणकर्ता हो, जसले बूम सुपरसोनिकलाई आफ्नो ओभर्चर यात्रुवाहक विमानको डिजाइन र प्रणाली परीक्षण गर्न सहयोग पुर्‍याउँछ।

ओभर्चर एक योजना अन्तर्गत बनिरहेको ६४ देखि ८० सिट क्षमताको सुपरसोनिक विमान हो, जसले २००३ मा अन्तिम उडान गरेको ब्रिटिश-फ्रान्सेली कंकर्डभन्दा तेज गतिमा यात्रुहरूलाई पुर्‍याउन लक्ष्य राखेको स्पेस डटकमले उल्लेख गरेको छ।

कोलोराडो-आधारित बूम सुपरसोनिकले ओभर्चरका लागि विश्वभरका प्रमुख एयरलाइन्सहरूबाट १०० भन्दा बढी अर्डर प्राप्त गरिसकेको छ। कम्पनीले सुपरसोनिक एयरलाइन्सलाई पुनः सेवा दिन ल्याउँदै उडान समयलाई आधा घटाउन मद्दत गर्ने आशा राखेको छ।

प्रकाशित: १७ माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया