Technology Khabar १५ माघ २०८१, मंगलवार
काठमाडौं ।
अबदेखि सामाजिक सञ्जाल प्रयोग गर्दा प्रयोगकर्ताले सावधानी अपनाउनुपर्ने भएको छ। हालसम्म सामाजिक सञ्जालमा जे पयो त्यही पोस्ट गर्दै आए पनि खासै फरक नपरेका प्रयोगकर्ताहरु अब भने यस्ता हर्कत गरेमा कानूनको दायरामा आउने भएका छन्।
सामाजिक सञ्जाल प्रयोगलाई मर्यादित बनाउन सरकारले तयार पारेको सामाजिक सञ्जाल विधेयक आज मंगलबार संसदमा दर्ता भएपछि अब भने सामाजिक सञ्जालमार्फत् हुनसक्ने अपराधका लागि प्रयोगकर्ताले कानुन बमोजिम कारबाही भोग्नुपर्ने भएको हो।
यो विधेयक संसदबाट पारित भएपछि प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा कानून विपरीतको शब्दहरु लेख्ने, फोटो राख्ने, ट्याग वा कमेन्ट गर्ने लगायतका काम गरेमा कसूर हेरी पाँच लाख रुपैयाँसम्म तिर्नुपर्ने नियम लागू हुन्छ।
यस्ता छन् विधेयकमा उल्लेख भएका सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने शर्तहरु:
(क) कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य नगर्ने,
‘हेट स्पीच भन्नाले व्यक्ति, समूह वा समुदाय विरुद्ध हिंसा वा घृणा फैलाउने वा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका विषयवस्तु सामाजिक सञ्जालमा पोष्ट, सेयर, कमेन्ट, लाइभ स्ट्रिमिङ, रिपोष्ट, ट्याग, ह्यासट्याग, मेन्सन गर्ने वा यस्तै प्रकृतिको अन्य कार्य सम्झनु पर्छ’, विधेयका भनिएको छ।
(ख) मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रसार नगर्ने
(ग) प्रचलित कानूनले निषेध गरेका वस्तुको विज्ञापन तथा कारोबार नगर्ने
(घ) प्रचलित कानूनले निषेध गरेका क्रियाकलापको नक्कल वा सेयर नगर्ने
(ङ) अन्धविश्वास फैलाउने र जनस्वास्थ्यमा प्रतिकूल असर पु-याउने विषयवस्तु प्रसार नगर्ने
यस्ता शर्तहरु पालना नगरेमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको अवज्ञाको स्तर अनुरुप पाँच लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ। यो विधेयक प्रमाणीकरण भएको ३१औं दिनदेखि लागू हुने उल्लेख गरिएको छ।
प्रकाशित: १५ माघ २०८१, मंगलवार