Technology Khabar १५ माघ २०८१, मंगलवार
काठमाडौं ।
मधेस प्रदेशमा मधेस विज्ञान प्रविधि प्रतिष्ठान स्थापनाका लागि तयारी सुरु भएको जनाइएको छ। विशिष्टीकृत अनुसन्धान केन्द्र मधेस प्रदेशको आयोजनामा आजदेखि बर्दिबासमा सुरु भएको चुरे संरक्षण र विकाससम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रममा प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा सोहनप्रसाद साहले यस्तो जानकारी दिएका हुन्।
यसअनुसारको प्रस्ताव तयार भई प्रक्रिया अगाडि बढेको उनले बताए। “हामीले प्रतिष्ठान स्थापनाबारे प्रस्ताव तयार गरेका छौँ, अहिले अध्ययनको चरणमा छ”, डा साहले भने, “मधेसको आवश्यकता र सम्भावनालाई तत्काल सम्बोधन हुनेगरी विज्ञान र प्रविधिको अभ्यास थाल्न प्रतिष्ठान स्थापनाबारे सोचिएको हो।”
उपाध्यक्ष डा साहले मधेसमा सिद्धान्त मात्र नभई विज्ञानको व्यवहारिक अभ्याससमेत आवश्यक भएकाले यसका लागि सघन नीति संवाद गरिनुपर्नेमा जोड दिए। यसैगरी उनले चुरेसँग मधेसको जीवनपद्धति अभिन्न रूपमा जोडिएकाले यसको संरक्षण र उपयोगको नीति कडाइका साथ अनुशरण गर्न आवश्यक रहेको बताए। मधेसको ऊर्जा, खानेपानी र सिँचाइको सिधा सम्बन्ध चुरेसँग रहेको हुँदा यसको संवेदनशीलतासँग सबैले परिचित हुनुपर्ने डा साहको भनाइ थियो।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का सचिव डा रवीन्द्रप्रसाद ढकालले स्थापनाको ४४ वर्षमा प्रतिष्ठानले हासिल गरेका उपलब्धि पर्यावरण संरक्षणमा उपयोगी भएका बताए। यस अवधिमा ब्रिकेट, सौर्य ऊर्जा, इमेलको प्रयोग, इकोसिस्टम र खाद्यवस्तुको परीक्षण (विकिरण परीक्षण) जस्ता महत्वपूर्ण काम भएका उनले बताए।
प्रशिक्षण कार्यक्रममा ‘चुरे संरक्षण नीति, अवस्था, सवाल र समाधानका उपाय’ एवं ‘चुरे संरक्षण कसको चासो? कसको जिम्मेवारी ?’ विषयक कार्यपत्रमा चुरे तथा जलाधार विज्ञद्वय डा नागेन्द्रप्रसाद यादव, डा विनोद भट्ट, चुरेविज्ञ नागदेव यादव, सरिता लामाबाट सहजीकरण तथा प्रस्तुतीकरण गरिने जनाइएको छ।
प्रशिक्षणमा मधेसका आठवटै जिल्लाका डिभिजन वन कार्यालय र प्रदेशका चारवटा भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख, विभिन्न जिल्लाका सिँचाइ कुलो संरक्षण समिति र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको सहभागिता रहेको छ।-रासस
प्रकाशित: १५ माघ २०८१, मंगलवार