भारतमा विश्वकै सबैभन्दा ठूलो एआई डाटा सेन्टर बनाउँदै रिलायन्स

Technology Khabar १२ माघ २०८१, शनिबार

काठमाडौं ।

रिलायन्सले भारतमा विश्वकै सबैभन्दा ठूलो एआई डाटा सेन्टर बनाउने योजना बनाएको एक रिपोर्टले जनाएको छ। मुकेश अम्बानीको रिलायन्सले भारतको जामनगरमा तीन गीगावाट क्षमताको डाटा सेन्टर बनाउने योजना बनाएको छ जसले बढ्दो एआई मागको फाइदा उठाउन मद्दत गर्ने बुझिएको छ।

यो सुविधा हालको सबैभन्दा ठूलो डाटा सेन्टर, माइक्रोसफ्टको भर्जिनियास्थित ६०० मेगावाट क्षमताको साइटभन्दा निकै ठूलो हुने बताइएको छ। यो परियोजनाको लागत २० अर्बदेखि ३० अर्ब डलरसम्म पर्न सक्ने ब्लूमबर्गले रिपोर्ट गरेको छ।

टेकक्रञ्चका अनुसार सन् २०२० मा अम्बानीले मेटा, गुगल, सिल्भर लेक, जेनेरल एटलान्टिक, केकेआर, मुबादला र पीआईएफसहितका लगानीकर्ताहरूबाट २५ अर्बभन्दा बढी संकलन गरेका थिए, जसले रिलायन्सका रिटेल र टेलिकम भेन्चरहरूलाई विस्तार गर्न सहयोग पुर्यायो। आज रिलायन्स भारतको सबैभन्दा मूल्यवान कम्पनी हो।

अम्बानीले यो सुविधा मुख्यत: नवीकरणीय ऊर्जा स्रोतहरूसँग सञ्चालन गर्ने लक्ष्य राखेका छन्। यसका लागि डाटा सेन्टर नजिकैको हरित ऊर्जा परिसरबाट सोलार, पवन र हाइड्रोजन ऊर्जा उत्पादन गरिनेछ।

रिपोर्ट अनुसार अम्बानीले यो डाटा सेन्टरका लागि एनभिडियाबाट चिप खरिद गरिरहेका छन्। अक्टोबरमा एनभिडिया र रिलायन्सले भारतमा  एआई एप्लिकेसनहरूका लागि पूर्वाधार निर्माण गर्न साझेदारीको घोषणा गरेका थिए।

जामनगर परियोजना त्यही समय आएको छ, जब यसै हप्ता ओपनएआई, सफ्टब्याङ्क र ओर्याकलले अमेरिका भित्र एआई पूर्वाधारका लागि आफ्नो स्टारगेट परियोजना अन्तर्गत ५०० अर्ब डलरसम्मको प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: १२ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया