
काठमाडौं ।
मेटाको फेसबुक, ईलन मस्कको एक्स, गुगलको युट्युब र अन्य प्राविधिक कम्पनीहरूले अनलाइन ‘हेट स्पिच’ रोक्न थप प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। यसका लागि अद्यावधिक गरिएको आचारसंहिता अब युरोपेली संघका प्राविधिक नियमहरूसँग समाहित गरिने सोमबार युरोपेली आयोगले जनाएको छ।
मे २०१६ मा स्थापना गरिएको यो स्वैच्छिक आचारसंहिताका अन्य हस्ताक्षरकर्ता कम्पनीहरूमा डेलीमोशन, इन्स्टाग्राम, ज्युक्सभिडियो डटकम, लिङ्कडइन, माइक्रोसफ्ट, स्न्यापच्याट, राकुटेन भाइबर, टिकटक, र ट्विच रहेको रोयटर्सले उल्लेख गरेको छ।
“युरोपमा अवैध घृणाजन्य अभिव्यक्ति कुनै पनि प्रकारले स्वीकार्य छैन, चाहे त्यो अफलाइन होस् वा अनलाइन। डिजिटल सेवाहरू ऐन (डीएसए) अन्तर्गत सुदृढ आचारसंहिता प्रतिवद्धताको म स्वागत गर्दछु,” युरोपेली संघकी प्राविधिक आयुक्त हेन्ना विरक्कुनेनले एक विज्ञप्तिमा भनिन्।
डीएसएले प्राविधिक कम्पनीहरूलाई अवैध र हानिकारक सामग्रीविरुद्ध थप कदम चाल्न आवश्यक पर्ने नियम बनाएको छ। यस अद्यावधिक आचारसंहिताको पालना गर्नुले ऐनको कार्यान्वयनमा नियामकहरूको प्रभाव पर्नसक्ने युरोपेली संघका अधिकारीहरूले बताएका छन्।
नयाँ आचारसंहिताअन्तर्गत, कम्पनीहरूले अवैध घृणास्पद भाषणको विशेषज्ञता भएका गैर-नाफामूलक वा सार्वजनिक संस्थाहरूलाई घृणास्पद सामग्रीको सूचना समीक्षामा निगरानी गर्न अनुमति दिनेछन्। यसका साथै, ती संस्थाहरूबाट प्राप्त सूचनाको कम्तीमा दुई तिहाइ भाग २४ घण्टाभित्र समीक्षा गर्ने प्रतिज्ञा गरेका छन्।
रोयटर्सका अनुसार कम्पनीहरूले आफ्नो प्लेटफर्ममा घृणाजन्य सामग्री घटाउन स्वचालित पहिचान उपकरणहरूको प्रयोग गर्ने र सामग्री हटाउनु अघि सिफारिस प्रणालीहरूको भूमिका, तथा अवैध सामग्रीको जैविक र एल्गोरिदमिक पहुँचको जानकारी उपलब्ध गराउने छन्।
यिनीहरूले जाति, जातीयता, धर्म, लैङ्गिक पहिचान वा यौनिक झुकावजस्ता आन्तरिक वर्गीकरणका आधारमा देशगत डाटा पनि प्रस्तुत गर्ने बताइएको छ।
प्रकाशित: ९ माघ २०८१, बुधबार