

काठमाडौं ।
इन्टरनेटको पहुँच बढेसँगै कोशी प्रदेशमा सूचना प्रविधि क्षेत्रका नयाँ व्यवसायहरू शुरू गर्न सकिने नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन कोशी प्रदेश वार्षिक प्रतिवेदन (आ.व.२०८०/८१)’ का अनुसार इन्टरनेटको पहुँच विस्तारसँगै सूचना प्रविधि क्षेत्रका व्यवसायहरूले पर्यटनबाट भन्दा बढी अर्थतन्त्रमा योगदान गरेको सन्दर्भमा कोशी प्रदेशमा पनि सूचना प्रविधि क्षेत्रका नयाँ व्यवसायहरू शुरू गर्न सकिने संभावना देखाएको छ।
प्रतिवेदनअनुसार, समीक्षा वर्षको अन्त्यमा कोशी प्रदेशमा कुल वितरित टेलिफोन संख्या ५२ लाख २८ हजार ६ सय ७२ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यो संख्या ४८ लाख २७ हजार ६ सय ७६ रहेको थियो।
त्यसैगरी, इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या १०.३ प्रतिशतले वृद्धि भई ४४ हजार ३ सय ४२ पुगेको तथ्यांकमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या ८.३ प्रतिशतले बढेको थियो।
सरकारले प्रत्येक स्थानीय निकायहरूमा अस्पताल तथा स्वास्थ्य चौकीहरूको निर्माण कार्यलाई तीव्रता दिएको तथा प्रत्येक जिल्लामा निजी अस्पताल र क्लिनिकहरू खुल्ने क्रम बढेसँगै गुणस्तरीय स्वास्थ्य सेवाहरूमा सर्वसाधारणको पहुँच विस्तार हुने देखिन्छ साथै ग्रामिण क्षेत्रहरूमा टेलिमेडिसिन सेवा र गुणस्तरीय शिक्षाको लागि ई–लर्निङ सेवा शुरू गर्न सक्ने केन्द्रिय बैंकले उल्लेख गरेको छ।
यस बाहेक प्रतिवेदनले प्रादेशिक चुनौतीहरु मध्ये कृषि, उद्योग, सेवा तथा पूर्वाधार क्षेत्रसँग सम्बन्धित तथ्याङ्क प्रदायक निकाय, प्रतिष्ठान तथा संघसंस्थाहरूमा सम्बन्धित सूचना तथा तथ्याङ्कको व्यवस्थित अभिलेख नहुँदा तथ्याङ्क प्राप्तिमा कठिनाइ हुनुका साथै प्राप्त भएका तथ्याङ्क, सूचना तथा विवरण पूर्णरुपमा विश्वसनीय बनाई तथ्यमा आधारित यथार्थपरक, व्यवहारिक र कार्यान्वयनयोग्य नीति निर्माण गर्नु रहेको औंल्याएको छ।
प्रकाशित: २९ पुष २०८१, सोमबार