ओपनएआईका सीईओ साम अल्टम्यानविरुद्ध बहिनीले हालिन् यौन शोषणको मुद्दा

  • Technology Khabar | २५ पुष २०८१, बिहीबार
ओपनएआईका सीईओ साम अल्टम्यानविरुद्ध बहिनीले हालिन् यौन शोषणको मुद्दा

काठमाडौं ।

ओपनएआईका सीईओ साम अल्टम्यानकी बहिनी एन अल्टम्यानले सोमबार आफ्नो दाजु विरुद्ध यौन शोषणको गम्भीर आरोप लगाउँदै मुद्दा दायर गरेकी छिन्।

यो मुद्दा अमेरिकी मिजौरी राज्यको पूर्वी जिल्ला अदालतमा दायर गरिएको हो। मुद्दामा सन् १९९७ देखि २००६ सम्म क्लेटन मिजौरीस्थित पारिवारिक घरमा नियमित रूपमा यौन शोषण गरेको  उल्लेख छ। त्यतीबेला एन तीन वर्षकी र साम १२ वर्षका रहेको उल्लेख छ।

मुद्दामा भनिएको छ, “यी यौन शोषणका घटनाहरूको प्रत्यक्ष र निकट परिणामस्वरूप, पीडितले गम्भीर मानसिक तनाव, मानसिक पीडा, र डिप्रेसनको सामना गरिरहेकी छिन्, जुन भविष्यमा पनि जारी रहने अपेक्षा छ।”

एनले यसअघि पनि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दाजु विरुद्ध यौन शोषणका आरोप लगाउँदै आएकी थिइन्। तर उनले कानुनी रूपमा मुद्दा दायर गरेको यो पहिलो पटक हो । उनलाई इलिनोइ राज्यका यौन शोषण र उत्पीडनका मामिलाहरूमा विशेषज्ञ वकिल र्यान माहोनेले प्रतिनिधित्व गरिरहेका बताइएको छ। मुद्दामा जूरी ट्रायल र ७५ हजार डलरभन्दा बढी क्षतिपूर्ति माग गरिएको छ।

साम अल्टम्यान र परिवारको प्रतिक्रिया

साम अल्टम्यान, उनकी आमा कोनी र भाइहरू ज्याक र म्याक्सले भने संयुक्त रूपमन एक्समा बयान जारी गर्दै यी आरोपहरूको खण्डन गरेका सीएलबीसीले जनाएको छ।

“एनीले हाम्रो परिवार र विशेष गरी सामविरुद्ध गहिरो पीडादायी र पूर्ण रूपमा गलत दावीहरू गरेकी छिन्,” बयानमा भनिएको छ। “हामीले सार्वजनिक रूपमा प्रतिक्रिया नदिने निर्णय गरेका थियौं, उनको गोपनीयता र हाम्रो सम्मानका लागि। तर, उनले अब कानुनी कदम चालेकी छिन्, जसले गर्दा हामीले प्रतिक्रिया दिनु परेको छ।”

बयानमा अगाडि भनिएको छ, “यी सबै दाबीहरू पूर्ण रूपमा गलत छन्” र “यो स्थिति हाम्रो सम्पूर्ण परिवारका लागि गहिरो पीडादायी छ।” परिवारले एन अल्टम्यानलाई मानसिक स्वास्थ्य चुनौतीहरूको सामना गर्नुपर्ने बताउँदै, “परम्परागत उपचार अस्वीकार गर्ने र उनलाई सहयोग गर्न खोज्ने परिवारका सदस्यहरूसँग झगडा गर्ने” दावी गरेका छन्।

प्रकाशित: २५ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार