एनभिडियाले सीईएस २०२५ मा अनावरण गर्यो मिनी डेस्कटप सुपरकम्प्युटर: यस्ता छन् विशेषता

Technology Khabar २४ पुष २०८१, बुधबार

काठमाडौं ।

वैज्ञानिकहरूले सुपरकम्प्युटरजस्तै शक्तिशाली तर झोलामा अट्ने नयाँ मिनी पीसी निर्माण गरेका छन्। “प्रोजेक्ट डिजिट्स” नाम दिइएको यो उपकरण डेभलपर्स, अनुसन्धानकर्ताहरू, विद्यार्थीहरू, र कृत्रिम बुद्धिमता अर्थात् एआईमा काम गर्ने डाटा वैज्ञानिकहरूका लागि डिजाइन गरिएको हो।

यसलाई एआई मोडेलहरू सञ्चालन गर्न प्रयोग गर्न सकिन्छ जसका लागि पहिला क्लाउडमार्फत ठूला डेटा सेन्टरहरूको आवश्यकता पर्थ्यो। एनभिडियाका सीईओ जेन्सेन हुआङले यसबारे सीईएसमा लस भेगासमा घोषणा गरेका थिए।

हाल यसको अन्तिम डिजाइन तय गरिएको छैन, तर यो उपकरण डेस्कमा वा झोलामा सजिलै अट्ने गरी निर्माण गरिनेछ।

प्रोजेक्ट डिजिट्सको विशेषता

यो उपकरण एनभिडिया जीबी१० ग्रेस ब्ल्याकवेल सुपरचिपद्वारा सञ्चालित रहेको लाइभसाइन्सले उल्लेख गरेको छ। सुपरचिपमा छुट्टाछुट्टै तर आपसमा जडान भएका कम्पोनेन्टहरू एउटै चिपमा राखिएका छन्, जसले डाटा स्थानान्तरणको समय घटाउँछ।

यस सुपरचिपमा एनभिडिया ब्ल्याकवेल ग्राफिक्स कार्ड र एनभिडिया ग्रेस प्रोसेसर हुन्छ। साथै, यसमा १२८ गिगाबाइट मेमोरी र ४ टेराबाइट एसएसडी स्टोरेज जडान गरिएको छ।

सामान्य पीसीभन्दा १ हजार गुणा शक्तिशाली

“प्रोजेक्ट डिजिट्सले रोबोटिक्स, कम्प्युटर भिजन, र स्वचालित प्रणालीमा अनुसन्धान गर्नेहरूलाई छिटो समाधान विकास र परीक्षण गर्न सहयोग पुर्‍याउँछ — जसलाई तपाईंको डेस्कमै राख्न सकिन्छ,” टोरोन्टो विश्वविद्यालयकी कम्प्युटर विज्ञानकी प्राध्यापक र वाबी (स्वचालित ट्रक कम्पनी) की संस्थापक राकेल उर्तासनले भनिन्। वाबीले आफ्ना स्वचालित ट्रकहरूको लागि एनभिडियाको प्रविधि प्रयोग गर्छ।

सुपरकम्प्युटरको शक्ति फ्लोटिंग पोइन्ट अपरेशन प्रति सेकेन्ड (एफएलओपीएस) मा मापन गरिन्छ। विश्वका सबैभन्दा शक्तिशाली सुपरकम्प्युटरहरूले १,००० पेटाफ्लप्स (१ क्विन्टिलियन एफएलओपीएस) भन्दा बढी शक्ति दिन्छन्। यो सामान्य ल्यापटपभन्दा १० लाख गुणा शक्तिशाली हो।

तर प्रोजेक्ट डिजिट्सले १ पेटाफ्लप्स शक्ति दिन सक्छ। यसले अत्याधुनिक सुपरकम्प्युटरहरूसँग मेल खान सक्दैन, तर अधिकांश डेस्कटप पीसी र ल्यापटपभन्दा धेरै शक्तिशाली रहेको लाइभसाइन्स उल्लेख गर्दछ।

विशाल भाषा मोडेलहरूको सञ्चालन

यो “डेस्कटप सुपरकम्प्युटर” प्रयोग गरेर २०० अर्ब प्यारामिटर भएका च्याटजीपीटीजस्ता जेनेरेटिभ एआई मोडेलहरू सञ्चालन गर्न सकिन्छ। दुई प्रोजेक्ट डिजिट्स उपकरणहरू जडान गरेर ४०५ अर्ब प्यारामिटरसम्मका मोडेलहरू चलाउन सकिन्छ।

उदाहरणका लागि नोभेम्बर २०२२ मा चुयाटजीपीटीको पहिलो संस्करणलाई शक्ति दिएको जीपीटी ३.५ १७५ अर्ब प्यारामिटर आकारको थियो। प्रत्येक प्यारामिटर मोडेलले टेक्स्ट कसरी प्रशोधन र उत्पादन गर्छ भन्ने निर्धारण गर्ने चर हो।

यो उपकरणको डिजाइन अझै पूर्ण भएको छैन। एनभिडियाका प्रतिनिधिहरूले यसको प्रोटोटाइपको कुनै तस्वीर साझेदारी गरेका छैनन्, तर यो मे महिनामा करिब ३,००० डलर मूल्यमा उपलब्ध हुने अपेक्षा गरिएको छ। इच्छुक व्यक्तिहरूले यसलाई किन्न अग्रिम दर्ता गर्न सक्नेछन्।

प्रकाशित: २४ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया