अलिबाबाले आफ्ना ठूलो भाषा मोडेलहरूको मूल्यमा ८५ प्रतिशतसम्म कटौती गर्ने

  • Technology Khabar | १८ पुष २०८१, बिहीबार
अलिबाबाले आफ्ना ठूलो भाषा मोडेलहरूको मूल्यमा ८५ प्रतिशतसम्म कटौती गर्ने

काठमाडौं ।

चिनियाँ टेक जायन्ट अलिबाबाले मंगलबार आफ्नो ठूलो भाषा मोडेलहरूको मूल्यमा ८५ प्रतिशतसम्म कटौती गर्ने घोषणा गरेको छ।

हाङझाउमा आधारित ई–कमर्स कम्पनीको क्लाउड कम्प्युटिङ शाखा, अलिबाबा क्लाउडले वीच्याटमा पोस्ट गर्दै टेक्स्ट र तस्बिर दुवै बुझ्न र विश्लेषण गर्न सक्षम आफ्नो भिजुअल भाषा मोडेल क्वेन-भीएल Qwen-VL मा यो मूल्य कटौती लागू गरिने प्रस्ट पारेको छ।

यो घोषणापछि हङकङ बजारमा अलिबाबाको सेयर मूल्यमा उल्लेखनीय परिवर्तन आएन। वर्षको अन्तिम कारोबार दिन अलिबाबाको सेयर ०.५ प्रतिशत मात्र बढेको थियो।

तर यो मूल्य कटौतीले चिनियाँ प्रविधि दिग्गजहरूबीच कृत्रिम बुद्धिमता अर्थात् एआई उत्पादनहरूको बजारमा अग्रता हासिल गर्न बढ्दो प्रतिस्पर्धा देखाएको छ।

सीएनबीसीका अनुसार अलिबाबा, टेन्सेन्ट, बाइडु, जेडी डटकम, ह्वावे र टिकटकको मातृ कम्पनी बाइटडान्सजस्ता प्रमुख चिनियाँ प्राविधिक कम्पनीहरूले गत १८ महिनामा आफ्ना ठूलो भाषा मोडेलहरू सार्वजनिक गरेका छन्। यी कम्पनीहरूले यो प्रविधिको हाइपलाई व्यावसायिक फाइदामा रूपान्तरण गर्न खोजिरहेका छन्।

अलिबाबाले आफ्नो एआई उत्पादनहरूको प्रयोग बढाउन मूल्य कटौती घोषणा गरेको यो पहिलो पटक भने होइन। गत वर्षको फेब्रुअरीमा कम्पनीले आफ्नो मुख्य क्लाउड उत्पादनहरूमा ५५ प्रतिशतसम्म मूल्य कटौती गरेको थियो। पछिल्लो समय गत वर्षको मे महिनामा अलिबाबाले क्वेन एआई मोडेलको मूल्य ९७ प्रतिशत सम्म घटाएको थियो।

ठूलो भाषा मोडेल अर्थात् एलएलएम भनेका विशाल डाटामा आधारित तालिम लिएका एआई  मोडेलहरू हुन्, जसले प्रयोगकर्ताका प्रश्न र निर्देशहरूमा मानवजस्तै प्रतिक्रिया दिन सक्छन्।

यी मोडेलहरू आजको माइक्रोसफ्ट समर्थित स्टार्टअप ओपनएआईको लोकप्रिय च्याटबट च्याटजीपीटीजस्ता जेनेरेटिभ एआई प्रणालीहरूको आधारस्तम्भ रहेको सीएनबीसीले उल्लेख गरेको छ।

अलिबाबाको हकमा कम्पनीले आफ्नो ठूलो भाषा मोडेल प्रयासहरू उपभोक्तामुखी एआई च्याटबट विकास गर्नभन्दा व्यावसायिक क्षेत्रमा केन्द्रित गरेको छ। गत वर्षको मे महिनामा कम्पनीले क्वेन मोडेल ९०,००० भन्दा बढी व्यावसायिक प्रयोगकर्ताहरूले प्रयोग गरिसकेको जनाएको थियो।

प्रकाशित: १८ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार