जब लस एन्जलसको व्यस्त सडकमा वेमोको रोबोट्याक्सी र डेलिभरी रोबोट एक आपसमा ठोक्किए…

  • Technology Khabar | १७ पुष २०८१, बुधबार
जब लस एन्जलसको व्यस्त सडकमा वेमोको रोबोट्याक्सी र डेलिभरी रोबोट एक आपसमा ठोक्किए…

काठमाडौं ।

गत डिसेम्बर २७ मा वेमोको रोबोट्याक्सी र सर्भ रोबोटिक्सको साइडवाक डेलिभरी रोबोट लस एन्जलसको एक चोकमा ठोक्किए। यसबारेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

भिडियोमा सर्भको रोबोट वेस्ट हलिउडमा रातिको समयमा सडक पार गर्दै थियो। सर्भ रोबोट फुटपाथमा चढ्ने प्रयास गरिरहेको बेला सडकको छेउमा पुगेर केही पछाडि हट्यो र आफूलाई ठिक गर्दै र्याम्पतर्फ अगाडि बढ्न खोजेको देखिएको छ। यही क्रममा वेइमोको रोबोट्याक्सीले दायाँ मोड लिँदै गर्दा सर्भको रोबोटसँग ठोक्कियो।

भिडियो पोस्ट गर्ने व्यक्तिले सर्भ रोबोटले ठोक्किनुअघि रातो बत्ती पार गरेको दावी गरेका छन्, यद्यपि भिडियोमा यो कुरा स्पष्ट छैन।

एक रेडिट प्रयोगकर्ताले उक्त भिडियोमा टिप्पणी गर्दै भनेका छन्, “वाइमो कम्प्युटर: ‘मानव वा जनावर जस्तो केही देखिएको छैन।’ ‘कुनै जीवन संकेत पत्ता लागेन’ ठ्याक्कै ठोक्कियो!” यो टिप्पणी मजाकको रूपमा गरिए पनि यसको भावना पूर्णतया असत्य भने छैन।

टेकक्रञ्चका अनुसार दुवै रोबोटमा कुनै क्षति भएन र ठोक्किएपछि एक मिनेटसम्म उनीहरू जाम अवस्थामा रहेर पछि आ–आफ्नो बाटो लागे। तर जब सार्वजनिक सडकमा यस्ता स्वचालित सवारीसाधनहरूको संख्या बढ्दै जान्छ, दुर्घटना हुँदा कसरी जिम्मेवारी तोकिन्छ भन्ने प्रश्न उठ्न सक्छ। कसको रोबोट हो  र कुन कम्पनी जिम्मेवार ठहरिने भन्ने विषयमा निर्णय कसरी हुने? भन्ने अर्को महत्वूर्ण प्रश्न हो।

वेमोले टेकक्रन्चलाई दिएको जानकारी अनुसार जब कुनै दुर्घटना हुन्छ, वेमो ड्राइभरले कम्पनीको फ्लीट रेस्पोन्स र राइडर सपोर्ट टिमलाई सूचित गर्छ। फ्लीट रेस्पोन्स टिमले दुर्घटनास्थलको अवस्था टाढैबाट समीक्षा गर्छ र आवश्यक परे सडक–छेउ सहयोग प्रतिनिधि पठाउँछ। राइडर सपोर्ट टिमले यात्रुहरूको अवस्था जाँच गर्छ र उपयुक्त ठहरेमा प्राथमिक प्रतिक्रियाकर्तालाई सम्पर्क गर्छ।

यस विशेष घटनामा रोबोट्याक्सीभित्र कुनै यात्री थिएनन्। वेमोको फ्लीट रेस्पोन्स टिमलाई यो दुर्घटनाबारे जानकारी गराइएको थियो वा थिएन भन्ने स्पष्ट छैन। त्यस्तै, वेमोको रोबोट्याक्सी वा सर्भको रोबोटलाई जामबाट बाहिर निकाल्नका लागि कुनै मानव सहायता चाहिएको थियो वा थिएन भन्ने कुरा पनि स्पष्ट छैन।

सर्भका प्रवक्ताले टेकक्रन्चलाई बताए अनुसार सर्भको कुनै रोबोट रोबोट्याक्सीसँग ठोक्किएको यो पहिलो पटक हो। प्रवक्ताले चोकमा पार गर्नका लागि सर्भको यस्तो प्रक्रिया अझै प्रयोगमा रहेकाले दुर्घटनाको समयमा रोबोट टाढैबाट सुपरभाइजरको नियन्त्रणमा पनि पुष्टि गरे।

टेकक्रन्चले भविष्यमा हुनसक्ने यस्ता घटनामा क्षति भएमा जिम्मेवारी निर्धारणको विषयमा वेमो र सर्भबाट थप ठोस जानकारी प्राप्त गर्न सकेन। तर दुवै कम्पनीका प्रवक्ताले भविष्यमा यस्ता समस्याहरू नदोहोरिनेतर्फ सहकार्य गरिरहेको पुष्टि गरेका टेकक्रञ्चले उल्लेख गरेको छ।

प्रकाशित: १७ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...