
काठमाडौं ।
ब्लूस्काइ सामाजिक सञ्जालले बुधबार ‘ट्रेण्डिङ टपिक्स’ हेर्ने सुविधा परीक्षण गर्दैछ। यो सुविधा विश्वभरका प्रयोगकर्ताहरूका लागि डेस्कटप र मोबाइल दुवै एपहरूमा उपलब्ध छ।
डेस्कटपमा, ‘ट्रेण्डिङ टपिक्स’ दायाँपट्टि रहेको साइडबारमा देख्न सकिन्छ। मोबाइल एपहरूमा भने ‘सर्च’ बटन थिचेर हेर्न सकिन्छ।
ब्लूस्काइ का अनुसार यो सुविधा हाल अंग्रेजी भाषामा मात्र उपलब्ध छ। प्रयोगकर्ताहरूले यसलाई सेटिङ्स > सामग्री र मिडिया > “इनेबल ट्रेण्डिङ टपिक्स” अप्सनलाई अनचेक गरेर निष्क्रिय गर्न सक्छन्।
टेकक्रञ्चका अनुसार ट्रेण्डिङ टपिक्समा तपाईंलाई नचाहिएको सामग्री नदेखियोस् भनेर ब्लूस्काइ ले विशेष ध्यान दिएको छ। तपाईँले म्यूट गरेका शब्दहरूलाई पनि यो सुविधाले मान्यता दिन्छ, जसले गर्दा तपाईंको म्यूट सूचीमा रहेका कुनै पनि शब्द वा वाक्यांश ‘ट्रेण्डिङ टपिक्स’ मा देखिने छैनन्।
२५ मिलियनभन्दा बढी प्रयोगकर्ता भएको यो सामाजिक सञ्जालले यो सुविधाको पहिलो संस्करण मात्रै भएको र यसलाई अझ सुधार्ने योजना रहेको बताएको छ।
ब्लूस्काइले ‘ट्रेण्डिङ टपिक्स’ भर्खरै सुरु गरे पनि ग्रेस्काइजस्ता तेस्रो-पक्ष ब्लूस्काइ क्लाइन्टहरूले यो सुविधा गत वर्ष नै कार्यान्वयन गरिसकेका थिए।
ब्लूस्काइका प्रतिस्पर्धी थ्रेड्सले भने मार्चमा सबै अमेरिकी प्रयोगकर्ताहरूका लागि ‘ट्रेण्डिङ टपिक्स’ सुविधा सुरु गरिसकेको थियो र अक्टोबरमा जापानमा यसको परीक्षण सुरु गरेको थियो।
प्रकाशित: १३ पुष २०८१, शनिबार