‘प्रतिभा पलायन रोक्न नास्टले भूमिका खेल्नुपर्छ’

  • Technology Khabar | २७ मंसिर २०८१, बिहीबार
‘प्रतिभा पलायन रोक्न नास्टले भूमिका खेल्नुपर्छ’

काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)लाई वैज्ञानिक, प्राविधिक र विज्ञहरू उत्पादनको केन्द्र बनाउने गरी पुनःसंरचना गरिनुपर्नेमा जोड दिइएको छ।

बुधबार विराटनगरमा आयोजित नास्टको पुनःसंरचना सम्बन्धमा राय सुझाव सङ्कलनका लागि विज्ञहरूसँगको अन्तक्रियामा सहभागीहरूले नास्टको विद्यमान संरचनाबाट सोचेअनुसार प्रतिफल आउन नसकेको बताएका हुन।

सहभागीहरूले प्रतिभा पलायन रोक्ने गरी नास्टले आवश्यक काम गर्नुपर्नेमा जोड दिए। उनीहरूले नास्टलाई मानित विश्वविद्यालयको अवधारणाअनुसार नयाँ संरचनागत ढाँचामा सञ्चालन गरिए वैज्ञानिक र प्राविधिक उत्पादनमा अधिकतम फाइदा पुग्ने धारणा राखे।

कार्यक्रममा नास्टका प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले नास्टको पुनःसंरचनाको आवश्यकता, त्यसका लागि गर्नुपर्ने विषयवस्तु, सम्भावना र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी, सदस्य प्रमीला गच्छेदारलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारी, विभिन्न क्याम्पसका क्याम्पस प्रमुख र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

नास्टले विराटनगर र पोखरामा विज्ञहरूसँग छलफलपछि काठमाडौँमा सम्बन्धित मन्त्रालयसँग छलफल गरेर आफ्नो उद्देश्यबारे जानकारी गराउने कार्यक्रम रहेको छ। रासस

प्रकाशित: २७ मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...