Technology Khabar २५ मंसिर २०८१, मंगलवार
काठमाडौं ।
बाइटडान्स र यसको छोटो भिडियो एप टिकटकले सोमबार एउटा कानून कार्यान्वयन रोक्न अस्थायी रूपमा आदेश जारी गरीपाउँ भन्दै एउटा पुनरावेदन अदालतलाई अनुरोध गरेका छन्। यो कानूनले बाइटडान्सलाई जनवरी १९ सम्म टिकटक बेच्न बाध्य पार्ने वा प्रतिबन्धको सामना गर्नुपर्नेछ जसको पुनरावलोकन अमेरिकी सर्वोच्च अदालतले गर्नेछ।
कम्पनीहरूले वाशिङ्टन डीसीस्थित अमेरिकी पुनरावेदन अदालतमा आपतकालीन प्रस्ताव दर्ता गरेका छन्। प्रस्तावमा यदि अदालतले यो आदेश जारी नगरेमा कानून लागू हुनेछ र टिकटकलाई बन्द गरिने उल्लेख गरिएको छ। टिकटक अमेरिकामा करिब १७ करोड मासिक प्रयोगकर्ताहरूको लागि लोकप्रिय अभिव्यक्ति मञ्च भएको रोयटर्सले उल्लेख गरेको छ।
राष्ट्रपति पदको उद्घाटनको अघिल्लो दिन यस्तो निर्णयले ठूलो प्रभाव पार्न सक्ने कम्पनीहरूले थप भनेका छन्। टिकटकले अदालतलाई यो अनुरोधमा डिसेम्बर १६ सम्म निर्णय लिन आग्रह गरेको छ।
यो निर्णयले टिकटकको भविष्य राष्ट्रपति जो बाइडेनको हातमा राख्छ, जसले जनवरी १९ को समयसीमा ९० दिन थप्ने निर्णय लिन सक्नेछन्। तर बाइटडान्सले टिकटक बेच्न उल्लेख्य प्रगति गरेको प्रमाणित गर्न सक्छ कि सक्दैन भन्ने स्पष्ट छैन।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, जसले २०२० मा टिकटकलाई प्रतिबन्ध लगाउने प्रयास असफल गरेका थिए, उनले नोभेम्बरको चुनाव अघि टिकटक प्रतिबन्ध हुन नदिने बताएका थिए। ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले भनेका थिए कि टिकटकलाई बचाउन आवश्यक छ तर अमेरिकी डाटाको सुरक्षा पनि गर्नुपर्छ।
यो निर्णयले विशेष गरी ती एप्सले अमेरिकी डाटा संकलनमा चिन्ता उत्पन्न गराउन सक्ने भएमा अमेरिकी सरकारलाई अन्य विदेशी स्वामित्व भएका एप्सलाई प्रतिबन्ध लगाउने व्यापक अधिकार दिन्छ।
टिकटकले सोमबार अदालतको निर्णयले अमेरिका बाहिरका करोडौं प्रयोगकर्ताको सेवा अवरुद्ध गर्ने चेतावनी दिएको छ। जनवरी १९ बाट टिकटकका सेवा प्रदायकहरूले आवश्यक सहयोग दिन नसक्ने सम्भावना पनि कम्पनीले औंल्याएको छ।
प्रकाशित: २५ मंसिर २०८१, मंगलवार