बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्न सरकारको प्रतिबद्धता

Technology Khabar २४ मंसिर २०८१, सोमबार

काठमाडौं ।

महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्री सम्माननीय नवल किशोर साह सुदीले २० मंसीरमा संयुक्त अरव ईमिरेट्सको राजधानी आबू धाबीमा आयोजित वी प्रोटेक्ट ग्लोवल एलाएन्स ग्लोवल समिट २०२४ मा सम्बोधन गर्दै बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्न नेपाल सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्।

डिजिटल युगमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारका पहलहरूको चर्चा गर्दै, सम्माननीय मन्त्रीले भने, “सरकार बालबालिका र युवाहरूलाई जोगाउन बलियो नीति र कानून विकास गर्दैछ।”

उनले अनलाइनमा बालबालिका र युवालाई सुरक्षित राख्न प्रभावकारी कार्यक्रम संचालन गर्न सरकार, गैरसरकारी संस्थाहरु, शैक्षिक संस्थाहरू र निजी क्षेत्रबीचको सहकार्यको महत्त्व आवश्यक रहेको बताए।

नेपालले वी प्रोटेक्ट को मोडेल नेशनल रेस्पोन्सलाई कार्य ढाँचाको रूपमा अपनाउने र बालबालिका अनलाइन सुरक्षाका लागि व्यापक र समन्वयित दृष्टिकोण लागू गर्ने जानकारी पनि मन्त्री साह सुदीले दिए।

चाईल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले सरकारको प्रतिबद्धताको स्वागत गर्दै भने, “हामी सरकारको अनलाइन यौन दुरुपयोग र शोषणबाट बालबालिका र युवाहरूलाई जोगाउने प्रतिज्ञाको स्वागत गर्छौं। साथै, सरकारलाई यस प्रतिबद्धतालाई गम्भीरतापूर्वक लिन र बालबालिका र युवाहरूका लागि सुरक्षित डिजिटल वातावरण सिर्जना गर्न पर्याप्त लगानी गर्न आग्रह गर्दछौं।”

नेपालमा बालबालिका र युवाहरूको सुरक्षाका लागि काम गर्ने अग्रणी संस्था चाईल्डसेफनेट वी प्रोटेक्ट ग्लोबल एलाएन्सको सदस्य हो।

शिखर सम्मेलनको दोस्रो दिन, “माई भ्वाइस, माई फ्यूचर” शीर्षकको एउटा प्रभावशाली भिडियो प्रदर्शन गरियो, जसमा नेपाल र नाइजेरियाका युवाहरूको आवाज समेटिएको थियो। भिडियोले बालबालिकाका लागि सुरक्षित डिजिटल संसार निर्माण गर्न तिनीहरूको दृष्टिकोण प्रस्तुत गरेको थियो।

वी प्रोटेक्ट ग्लोवल एलाएन्स र संयुक्त अरब एमिरेट्सको गृह मन्त्रालयले मङ्गसिर १९ र २० गते आवु धावीमा ग्लोवल समिट २०२४ को आयोजना गरेको थियो।

सम्मेलनले ८०० भन्दा बढी प्रतिनिधिहरूलाई भौतिक रूपमा र अनलाइन दुबै माध्यमबाट सहभागी गराउँदै बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी महत्त्वपूर्ण विषयहरूमा छलफल गरेको थियो।

प्रकाशित: २४ मंसिर २०८१, सोमबार

तपाइको प्रतिक्रिया