भविष्यका वेयरेबलहरु मान्छेको शरीरको ‘खेर जाने ऊर्जा’ बाटै चार्ज हुने सम्भावना प्रबल

Technology Khabar २० मंसिर २०८१, बिहीबार

काठमाडौं ।

सिक्सजी वायरलेस कम्युनिकेशनबाट निस्कने खेर जाने ऊर्जा संकलनको नयाँ प्रविधिका कारण तपाईंको शरीरले लगाउन मिल्ने उपकरणहरू अर्थात् वेयरेबलहरुका लागि ब्याट्रीको काम गर्न सक्ने युनिभर्सिटी अफ म्यासाचुसेट्स एम्हर्स्टका अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्।

उनीहरुका अनुसार सिक्सजीको प्रयोगमा आधारित भिजिबल लाइट कम्युनिकेशनले उत्सर्जन गर्ने रेडियो फ्रिक्वेन्सी खेर जाने ऊर्जा सस्तो तामाका तारहरूको मद्दतले संकलन गरी मानव शरीरको माध्यमबाट अन्य उपकरणमा ऊर्जा प्रवाह गर्न सकिन्छ।

सिक्सजी हाल विकासको चरणमा रहेको भविष्यको वायरलेस कम्युनिकेशन प्रविधि हो, जुन यो दशकको अन्त्यसम्ममा प्रयोगमा आउने अपेक्षा गरिएको छ।

लाइभसाइन्सका अनुसार २०२२ मा प्रकाशित अनुसन्धानका अनुसार यो प्रणालीको मुख्य आधार भीएलसी हो, जसले एलईडी जस्ता स्रोतहरूबाट देखिने प्रकाशको धेरै छिटो चमक प्रयोग गरेर डाटा प्रेषण गर्छ। भीएलसी सिक्सजी सिग्नल प्रसारण गर्ने सम्भावित माध्यममध्ये एक हो।

तर एलईडीहरूले पनि साइड-च्यानल रेडियो फ्रिक्वेन्सी सिग्नल अर्थात् चुहिएको ऊर्जा उत्सर्जन गर्छन्। अनुसन्धानकर्ताहरूले यो ऊर्जा तामाको तारको कुन्डलीद्वारा संकलन गर्न सकिने र जब यो तार मानव छालासँग सम्पर्कमा रहन्छ, यसले ऊर्जा पुन: प्रयोगको दक्षता धेरै गुणा बढाउँछ भन्ने पत्ता लगाएका छन्।

अनुसन्धानअनुसार छालाको सम्पर्कले दक्षता १० गुणासम्म बढायो जुन तारलाई एक्लै प्रयोग गर्दा भन्दा धेरै राम्रो हो। मानव शरीरले रेडियो ऊर्जा संकलन गर्न अन्य सामग्रीहरूजस्तै काठ, प्लास्टिक, कार्डबोर्ड, वा स्टिलभन्दा राम्रो काम गरेको पाइएको छ।

शरीर ब्याट्री’को अवधारणा

अनुसन्धानकर्ताहरूले यसै आधारमा ब्रेसलेट+ नामको उपकरण बनाए, जुन तामा तारको कुन्डलीबाट बनेको छ र माथिल्लो पाखुरामा लगाउन मिल्छ। यो डिजाइनलाई हार, ब्रेसलेट, बेल्ट, वा औंठीको रूपमा पनि परिवर्तन गर्न सकिन्छ। यद्यपि, ब्रेसलेटले ऊर्जा संकलन र लगाउन सजिलो हुनुको सन्तुलन प्रदान गर्ने देखिएको छ।

“यो डिजाइन सस्तो छ — ५० सेन्टभन्दा कममा तयार गर्न सकिन्छ,” अध्ययनका लेखकहरूले बताए। “तर ब्रेसलेट+ ले माइक्रो-वाट्ससम्म ऊर्जा उत्पन्न गर्न सक्छ, जुन कम उर्जा खपत गर्ने, कम नमुना संकलन आवृत्ति र लामो स्लीप मोड भएका फिजिकल हेल्थ मनिटर जस्ता सेन्सरहरूको लागि पर्याप्त हुन्छ।”

यो तथ्यलाई ध्यानमा राख्दा, यस्तो प्रविधिले लगाउन मिल्ने उपकरणहरूको सीमित ब्याट्री आयुको समस्या समाधान गर्न सक्ने सम्भावना देखिन्छ। उदाहरणका लागि, एप्पल वाचजस्ता उच्च-स्तरीय स्मार्टवाचहरू प्रायः दैनिक रूपमा चार्ज गर्न आवश्यक पर्छ, जसले यो उपकरणलाई प्रयोग गर्न सहजता घटाउन सक्छ।

अहिले स्मार्ट रिंगहरूको लोकप्रियता बढ्दै गएको छ, जसले झन् धेरै उपकरणलाई नियमित रूपमा ऊर्जा आवश्यकता पर्ने बनाएको लाइभसाइन्सले उल्लेख गरेको छ।

ब्रेसलेट+ले सक्षम गर्ने यो ऊर्जा संकलन प्रविधि, उपयुक्त डिजाइन भएका उपकरणहरूले यसबाट ऊर्जा लिन सक्नेगरी निर्माण गरिएमा, अर्को पुस्ताका लगाउन मिल्ने उपकरणहरूको लागि इन-सिटु चार्जर  बन्न सक्छ।

तर यो प्रविधि सिक्सजी नेटवर्कमा आधारित छ, जसले भीएलसी प्रयोग गर्दछ। यो नेटवर्क अझै विकास र परीक्षणको चरणमा छ, उपभोक्ता र औद्योगिक उपकरणहरूमा व्यापक रूपमा अपनाउन धेरै टाढा छ।

तर यसले मानवीय शरीरलाई प्रविधि चलाउन सक्षम ब्याट्रीमा रूपान्तरण गर्ने सम्भावनाको शुरुवात दिन सक्छ, जसले “द म्याट्रिक्स” फिल्ममा देखाइएको भविष्यभन्दा धेरै सौहार्दपूर्ण रूपमा काम गर्नेछ।

“अन्ततः,” अध्ययनका प्रमुख लेखक तथा यूनिभर्सिटी अफ म्यासाचुसेट्स एम्हर्स्ट  का प्राध्यापक जिए जिओङले भने, “हामी भविष्यको प्रविधि सञ्चालनका लागि विभिन्न स्रोतबाट खेर जाने ऊर्जा संकलन गर्न सक्षम हुन चाहन्छौँ।”

प्रकाशित: २० मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया