
काठमाडौं ।
बिगत २९ वर्ष देखि सेवा दिँदै आएको वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो २५ बर्षे दुवै (नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक) लाइसेन्सहरु नवीकरण गरी सकेको जानकारी दिएको छ। यी लाइसेन्सहरु प्राप्त भए सँगै यो संस्थाको विश्वसनीयता र क्षमता थप बलियो भएको बताएको छ।
वर्ल्डलिंक कम्युनिकेशन्सले विगत देखि मर्मत सम्भार शुल्क सम्बन्धि मुद्दामा संवैधानिक हकको उपयोग गर्दै कानुनी प्रक्रियामा संलग्न रहेको र आगामी दिनहरुमा पनि आफ्नो संवैधानिक हकको पुर्ण रुपमा प्रयोग गर्न सक्ने स्पष्ट पारेको छ।
यसैगरी, उपरोक्त मुद्दामा सम्मानित सर्वोच्च अदालतको निर्णय आएसँगै यो मुद्दाको एउटा मात्र कडी समाप्त भएको छ र सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै यस संस्थाले आफ्नो कानुनी दायित्व पुरा गरिसकेको उल्लेख गरेको छ।
यस बिचमा कम्पनीले आफ्ना ग्राहकहरुले देखाउको भरोसा र विश्वास प्रति आभार समेत प्रकट गरेको छ।
“यो लामो कानूनी प्रकृयामा यस संस्थालाई भरोसा दिलाउनु हुने र भरोसा गर्नु हुने आदरणीय ग्राहक महानुभावहरूप्रति वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड हार्दिक आभार प्रकट गर्दछ । यस प्रकृयामा प्रत्यक्ष-अप्रत्यक्ष सघाउनु हुने, चासो राख्ने र सहयोग गर्ने सम्पूर्ण जनलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं। साथ साथै नेपालको कानुन प्रणाली, सम्मानित अदालत, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरण, नेपाल सरकारसँग सम्बद्ध संस्थाहरू, सम्पूर्ण कानून व्यवसायीहरू, एउटै क्षेत्रमा संलग्न निजी इन्टरनेट सेवा प्रदायकहरू तथा हितैषी र शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
संस्था अन्तर्गत देशभर फैलिएको इन्टरनेट प्रविधिको सञ्जाल मार्फत् सूचना र सञ्चार क्षेत्रसँग जोडिने र कम्पनीको सेवा तथा गुणस्तरीय प्रतिबद्धतालाई विश्वास गर्दै यो अप्ठेरो समयमा आड र भरोसा प्रदान गर्ने सम्पूर्ण ग्राहक र प्रयोगकर्ताहरू तथा कर्मचारीहरुलाई धन्यवाद दिएको छ।
यसका साथमा कम्पनीले आफ्नो सेवा अझै अत्याधुनिक, अझै भरोसा योग्य र ग्राहकमैत्री हुने प्रतिबद्धता जनाएको छ।
प्रकाशित: १८ मंसिर २०८१, मंगलवार