हेसाई ग्रुपले लाईडार प्रविधिको मूल्य घटाउने, विद्युतीय गाडीहरूमा प्रयोग व्यापक हुने

Technology Khabar १४ मंसिर २०८१, शुक्रबार

हेसाई ग्रुपले लाईडार प्रविधिको मूल्य घटाउने, विद्युतीय गाडीहरूमा प्रयोग व्यापक हुने
तस्बिर सौजन्य: रोयटर्स

काठमाडौं ।

स्वचालित गाडीहरूको लागि लाईडार सेन्सर उत्पादन गर्ने विश्वकै ठूलो कम्पनी चीनको हेसे ग्रुपले आफ्नो प्रमुख उत्पादनको मूल्य २०२५ सम्म आधा घटाउने योजना बनाएको छ। कम्पनीका सीईओ डेभिड लीका अनुसार, यस कदमले लिडार प्रविधि सस्ता विद्युतीय गाडीहरूमा पनि उपलब्ध गराउनेछ।

लीले भने, “हामी अहिले यस्तो अवस्थामा आइपुगेका छौँ, जहाँ लाखौँ गाडीहरू लिडार प्रविधिसहित बिक्री हुनेछन्।” मूल्य घटेपछि १ लाख ५० हजार युआन (२० हजार डलर) भन्दा कम मूल्यका गाडीहरूमा पनि यो प्रविधिको प्रयोग सम्भव हुने उनले बताए।

रोयटर्सका अनुसार लाईडार सेन्सरले लेजरको माध्यमबाट गाडी वरपरको वातावरणको तीन-आयामिक तस्बिर बनाउँछ, जसले गाडीलाई अवरोधहरू चिन्न र बाटो पार गर्न सहयोग गर्छ। यो प्रविधिलाई अब एयरब्याग र सुरक्षा बेल्ट जस्तै मानक सुरक्षा सुविधाका रूपमा स्थापित गरिने योजना छ।

हेसे ग्रुपले आफ्नो नयाँ पुस्ताको लाईडार उत्पादन “एटीएक्स” आगामी वर्ष २०० डलरभन्दा कम मूल्यमा उपलब्ध गराउनेछ। अहिलेको “एटी१२८” मोडलको तुलनामा यो मूल्य आधा सस्तो हुनेछ। कम्पनीले यो मूल्य कटौती आफ्नै विकसित चिप्स र कारखानाको उत्पादन दरमा सुधारको माध्यमबाट गर्ने जनाएको छ।

कम्पनीले तेस्रो त्रैमासिकमा ७०.४ मिलियन युआन घाटा भए पनि चालु त्रैमासिकमा घाटा नहुने अपेक्षा गरेको छ। यस घोषणापछि न्यासड्याकमा सूचीबद्ध कम्पनीका शेयरहरू ४४% ले बढेका छन्।

चीनको बढ्दो मागलाई ध्यानमा राख्दै, कम्पनीले आफ्नो हाङझाउस्थित कारखानाको वार्षिक उत्पादन क्षमता १५ लाख युनिट पुर्‍याउने तयारी गरेको छ। यो कदमले चीनमा विद्युतीय गाडीहरूको सुरक्षा र आत्मनिर्भर प्रविधिको प्रयोगलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: १४ मंसिर २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया