
काठमाडौं ।
स्न्याप कम्पनीले बिहीबार न्यू मेक्सिकोमा दायर मुद्दा खारेज गर्न अदालतमा प्रस्ताव दर्ता गरेको छ। यो मुद्दामा स्न्यापच्याट एपमार्फत बाल यौन शोषणलाई सक्षम बनाएको आरोप लगाइएको थियो। स्न्यापले राज्यको अनुसन्धानमा गलत विवरण भएको भन्दै यी आरोपहरू अस्वीकार गरेको छ।
यो मुद्दा न्यू मेक्सिकोका महान्यायाधिवक्ता राउल टोरेजले सेप्टेम्बरमा दायर गरेका हुन्। अमेरिकी सांसदहरूले प्रविधि कम्पनीहरूलाई नाबालिग प्रयोगकर्तामाथि पर्ने हानीका लागि जिम्मेवार बनाउन थालेका प्रयासहरूमध्ये यो पनि एक हो।
जनवरीमा, अमेरिकी सिनेटरहरूले स्न्याप, मेटा, टिकटक, एक्स र डिस्कोर्डका सीईओहरूलाई बाल यौन शोषण र “सिक्टोर्सन” जस्ता समस्याहरूबाट बचाउन नसकेको आरोप लगाउँदै प्रश्न गरेका थिए।
न्यू मेक्सिकोले लामो अनुसन्धानका क्रममा १४ वर्षकी केटीको नक्कली खाता बनाएको थियो। यो खाताले कुनै पनि साथीहरू थप नगरेको भए पनि स्न्यापच्याटले अश्लील नाम भएका प्रयोगकर्ताहरूलाई थप्न सुझाव दिएको अनुसन्धानकर्ताहरूले बताएका रोयटर्सले उल्लेख गरेको छ।
तर स्न्यापले न्यू मेक्सिकोको पहिलो न्यायिक अदालतमा दायर फाइलिङमा यी आरोपहरू “पूणरूपमा झुटा” भएको दावी गरेको छ। नक्कली खाताले उल्टै धेरै प्रयोगकर्तालाई साथी बन्न आग्रह गरेको कम्पनीको भनाई छ ।
न्यू मेक्सिकोको मुद्दाले स्न्यापमाथि बालबालिकालाई “सिक्टोर्सन” का जोखिमहरूबारे चेतावनी नदिएको आरोप पनि लगाएको छ। तर सान्ता मोनिका, क्यालिफोर्नियामा आधारित कम्पनीले यो दावी पहिलो संशोधन (फर्स्ट अमेण्डमेन्ट) को उल्लङ्घन भएको बताएको छ। स्न्यापलाई यसबारे जानकारी दिन वा वक्तव्य दिन बाध्य बनाउन मिल्दैन।
स्न्यापले १९९६ को कानूनको धारा २३० को पनि हवाला दिएको छ, जसले अनलाइन प्लेटफर्महरूलाई प्रयोगकर्ताहरू वा तेस्रो पक्षबाट पोस्ट गरिएका सामग्रीको लागि नागरिक दायित्वबाट जोगाउँछ।
स्न्यापले आफ्नो सुरक्षा सम्बन्धी स्वतन्त्र काम र स्थानिय, राज्य तथा संघीय कानुन कार्यान्वयन निकायहरूसँगको लामो साझेदारीलाई प्राथमिकता दिएको दाबी गरेको छ। २०२० देखि कम्पनीले आफ्नो ट्रस्ट र सेफ्टी टिमलाई दोब्बर र कानुन प्रवर्तन अपरेसन टिमलाई तीनगुणा बढाएको बताएको छ।
प्रकाशित: ८ मंसिर २०८१, शनिबार