ताजा समाचार

मेसिन बिग्रिएपछि तीन महिनादेखि विषादी परीक्षण बन्द

मेसिन बिग्रिएपछि तीन महिनादेखि विषादी परीक्षण बन्द
सांकेतिक तस्बिर
Global IME Bank

भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ। मेसिनमा खराबी देखिएपछि प्रयोगशालाबाट परीक्षणको काम रोकिएको हो।

कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार गत तीन महिनादेखि मेसिन बिग्रिएपछि विषादी परीक्षणको काम रोकिएको हो।

दैनिक करिब पाँचवटा नमूनाको विषादी परीक्षण गरिने मेसिन बिग्रिएपछि बनाउनका लागि पठाइएको उनले जानकारी दिइन्। मौसम अनुसारका ताजा तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गरिँदै आइएको थियो।

प्रयोगशाला विसं २०७६ असोज ७ गते स्थापना गरिएको थियो। त्यसपछि वार्षिक सात सयभन्दा बढी नमूना परीक्षण गरिँदै आइएको थियो। परीक्षणका आधारमा विषादीयुक्त फलफूल तथा ताजा तरकारी नष्ट गर्ने र केही समय राखेर मात्र बिक्री गर्न दिइने गरिएको थियो।

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार ‘स्पेक्ट्रो फोटो मिटर’ बिग्रिएकाले निर्माणका लागि काठमााडौँ पठाइएको छ। उनले भने, “मर्मत भइसकेको छ। हप्ता दश दिनमा यहाँ आइसक्छ। अनि तत्काल काम सुरु हुन्छ।”-रासस

Sajilo Visa
easy care