Technology Khabar २ मंसिर २०८१, आईतवार
काठमाडौं ।
टिकटकको मूल कम्पनी बाइटडान्सको मूल्य लगभग ३०० अर्ब डलर पुगेको छ। हालै यसले लगानीकर्ताहरूबाट सेयर फिर्ता किन्ने योजना ल्याएको छ।
यसपटक कम्पनीले प्रतिशेयर १८०.७० डलरको प्रस्ताव गरेको छ, जुन अघिल्लो सेयर फिर्ता किन्दा दिएको १६० डलरको मूल्यभन्दा १२.९ प्रतिशत बढी हो।
वालस्ट्रीट जर्नलले पहिले नै यो मूल्यांकनको खबर रिपोर्ट गरेको थियो। एक स्रोतका अनुसार बाइटडान्सले कुनै पनि सार्वजनिक सेयर (आईपीओ) जारी गर्ने योजना हाललाई राखेको छैन। बरु यो सेयर फिर्ता कार्यक्रम कम्पनीलाई नगद प्रवाह (लिक्विडिटी) दिन मद्दत गर्नका लागि हो।
यो तेस्रो पटक बाइटडान्सले सेयर फिर्ता किन्ने कार्यक्रम ल्याएको हो। कम्पनीले २०२२ देखि यस्तो कार्यक्रम गर्दै आएको छ। डिसेम्बर २०२३ मा बाइटडान्सले करिब ५ अर्ब डलरको सेयर प्रतिशेयर १६० डलरमा फिर्ता किन्यो जसले कम्पनीको मूल्यलाई २६८ अर्ब डलर पुर्यायो।
एक अर्को स्रोतका अनुसार बाइटडान्सले अमेरिकी राष्ट्रपतिको चुनावको नतिजा जे भए पनि सेयर फिर्ता किन्ने कार्यक्रम अघि बढाउने योजना बनाएको थियो तर उक्त स्रोतले आफ्नो नाम खुलाउन चाहेन।
गत वर्षको विश्वव्यापी आम्दानी ३० प्रतिशतले बढेर ११० अर्ब डलर पुगेको बाइटडान्स अहिले आफ्ना अमेरिकी सम्पत्तिहरूलाई लिएर कानूनी लडाइँ सामना गरिरहेको रोयटर्सले उल्लेख गरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अप्रिल २४ मा हस्ताक्षर गरेको कानूनी प्रावधान अनुसार, बाइटडान्सलाई जनवरी १९ सम्म टिकटक बिक्री गर्नुपर्नेछ नत्र टिकटकलाई प्रतिबन्धको सामना गर्नुपर्नेछ।
ह्वाइट हाउसले चिनियाँ स्वामित्वलाई राष्ट्रिय सुरक्षाका कारण अन्त्य गर्न चाहने तर टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउन नचाहने बताउँदै आएको छ। टिकटक र बाइटडान्सले बाइडेनले हस्ताक्षर गरेको कानूनी प्रावधानलाई रोक्नका लागि मे महिनामा अमेरिकी संघीय अदालतमा मुद्दा हालेका थिए।
प्रकाशित: २ मंसिर २०८१, आईतवार