सामाजिक सञ्जालमार्फत आफूविरुद्ध गलत प्रचार गरेको भन्दै पर्यटनमन्त्री पाण्डेद्वारा संसदीय दलमा उजुरी

  • Technology Khabar | ३० कार्तिक २०८१, शुक्रबार
सामाजिक सञ्जालमार्फत आफूविरुद्ध गलत प्रचार गरेको भन्दै पर्यटनमन्त्री पाण्डेद्वारा संसदीय दलमा उजुरी

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले पार्टीकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रुपमा आफूविरुद्ध गलत प्रचार गरेको आरोप लगाउँदै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन्।

मन्त्री पाण्डेले अनुशासन समितिमा बिहीबार र संसदीय दलमा आज उजुरी दिएका उनको सचिवालयले जनाएको छ।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृङ्खलाबद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा गलत प्रचार गर्दै आएको मन्त्री पाण्डेले दिएको उजुरीमा उल्लेख छ।

उजुरीमा भनिएको छ, “नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान तथा निष्ठामा धावा बोल्नेगरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावना माथि मात्र गम्भिर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यस्ता अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ।”

सांसद बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै गत मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थिए। मन्त्री पाण्डेले आफ्नो चरित्रमा आँच पुगेको भन्दै यसबारे आवश्यक अनुसन्धान गरी कारबाही गर्न उजुरी दिएका हुन्।-रासस

प्रकाशित: ३० कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार