Technology Khabar ३० कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
सीजी मोटर्सले नेपालमा बिक्री गर्दै आएको निटा ईभीको उत्पादक कम्पनी चीनको होजोन अटो कम्पनीले चीनमा बिक्रीको अवस्था नाजुक भएको कारण देखाउँदै आफ्नो झेजियाङ फ्याक्ट्रीमा निर्माण हुने निटा ईभीको उत्पादन बन्द गरेको जनाएको छ।
यसबाहेक कम्पनीले कर्मचारीको तलब समेत काटेको छ। निटा ब्राण्डका सीईओ झाङ योङले यो घोषणापछि वेईबो र टिकटक एकाउन्टमा पनि अपडेट गर्न छाडेका छन्।
निटा सन् २०१८ मा होजोन अटो कम्पनीद्वारा मूलधारको ईभी निर्माताका रुपमा स्थापना गरिएको थियो। यसले निटा भी जस्ता सस्तो विद्युतीय गाडी उत्पादन गर्दै आएको कारन्यूजचाइनाले उल्लेख गरेको छ।
यो रणनीतिबाट निटाले वार्षिक १ लाख ५० हजार कार उत्पादन गरेर सन् २०२२ मा प्रतिस्पर्धी ईभी निर्माताहरु ली अटो, नियो तथा एक्सपेङलाई उछिनेको थियो।
त्यसपछि कम्पनीले प्राविधिक रुपमा सशक्त र बढी मूल्य पर्ने अत्याधुनिक मोडलका गाडीहरु उत्पादन गर्ने निर्णय गर्यो। हाल कम्पनीसँग नेटा आया निटा एक्स निटा जीटी निटा एस निटा हण्टिङ गरी ६ वटा मोडलहरु रहेका छन्।
यो कम्पनीका ईभीहरु चीनबाहिर अन्य बजारमा कतै बिक्री नहुने भएपनि नेपालमा भने ईभी गाडीहरुको प्रतिस्पर्धाका बीच चौधरी ग्रुपले आयात गरेर बिक्री गर्ने गरेको छ।
केही समयअघिको नाडा अटो शोमा पनि चौधरी ग्रुपले आफूले ल्याएका यात्रुवाहक र निजी साना ईभीको खुलेर प्रदर्शनी गरेको थियो। ग्रुपले नेटा बाहेक अन्य थुप्रै चिनियाँ कम्पनीको यात्रुवाहक ईभी गाडीहरु ल्याएर बिक्री गर्दै आएको छ। कम्पनीले केवाईसी चाङ्गन र किङ लङ ब्राण्डलाई आफ्नो वेबसाइटमा पनि समेटेको छ।
यस्तो छ अधोगतितर्फको यात्रा
केही समययता निटाका लागि उच्च-स्तरको बजारमा प्रवेश गर्न निकै कठिन भएको देखियो। यसको बिक्रीको सङ्ख्या चीनमा निरन्तर घट्दै गयो। सन् २०२४ को जनवरीदेखि सेप्टेम्बर सम्म निटाले चीनमा ५३ हजार ८५३ थान गाडीमात्र डेलिभर गर्न सक्यो, जुन यसको वार्षिक बिक्री लक्ष्यको ३०% भन्दा पनि कम हो।
समस्याग्रस्त निर्माताले अक्टोबरको बिक्री परिणाम साझा गरेको छैन। यसअघि निटाले हरेक महिना १ तारिखमा अघिल्लो महिनाको बिक्री रिपोर्ट गर्ने गर्थ्यो।
उद्योग भित्रका स्रोतलाई उद्धृत गर्दै कारन्युज डटकमले उल्लेख गरे अनुसार निटाले अक्टोबरमा करिब ४ हजार ५ सय थान डेलिभर गरेको थियो, जुन मासिक हिसाबले ४० प्रतिशतले घटेको थियो।

यो परिणाम आउनुका धेरै कारणहरू थिए। पहिलो निटाले नेटा एस हण्टिङ वेगनको डेलिभरीमा समस्या झेल्नुपरेको थियो। यसको प्रमाण धेरै ग्राहकहरूले निटाका सीईओ झाङयोङको वेबोमा दिएका टिप्पणीहरूबाट थाहा हुन्छ।
चिनियाँ स्रोतहरूकाअनुसार निटाले एस हण्टिङको प्रो ट्रिम स्तरको गाडी डेलिभर गर्न सकेन किनभने एउटा पार्ट्स (अक्सेसरी) हराइरहेको थियो। अन्य नेटा मोडलहरूको बिक्री पनि कमजोर देखिएको रिपोर्टमा उल्लेख छ।
चिनियाँ मिडिया डोन्युजका अनुसार झेजियाङको टङशियाङमा रहेको निटा कारखानाले आधा महिना उत्पादन रोक्यो। यो ब्रान्डको मुख्य उत्पादन केन्द्र हो जसको वार्षिक उत्पादन क्षमता २ लाख युनिटहरू रहेको छ। यस कारखानाले मुख्य रूपमा निटा एल क्रसओभर उत्पादन गर्थ्यो।
यस वर्ष नेटाले आफ्नो कर्मचारीहरूको तलब कटौती गरेको रिपोर्ट छ। अक्टोबरमा केही नेटा कर्मचारीहरूले कम्पनीले अघिल्लो महिनाको तलब समयमा दिन नसकेको दावी गरे। कर्मचारीको तलबको रकम काटेर सप्लायरहरूलाई बक्यौता तिरिएको समाचारमा उल्लेख छ। त्यही समयमा, उच्च-पदस्थ कर्मचारीहरूको तलबमा ३० प्रतिशतसम्म कटौती गरियो।
नेपाली उपभोक्ता अन्योलमा
नेपालमा सीजी मोटर्सले नेटा भी ५०, नेटा एक्स मोडलका गाडीहरु ल्याएर बिक्री गर्ने गरेको छ भने नेटा एस गाडी कमिङ सून’ सेक्सनमा राखिएको छ। तर मूल कम्पनीले नै उत्पादन बन्द गरेपछि अब आउने भनिएको गाडी र आइरहेका मोडल पनि नेपालमा पनि बन्द हुने देखिएको छ।
यसबाहेक यी गाडीहरु खरिद गरेर प्रयोग गरिरहेकाहरुले कम्पनीबाट पाइने वारेन्टी तथा पार्टपूर्जा कहिलेसम्म पाइरहलान् भन्ने कुरा पनि अन्योल देखिन्छ। यसबारे सीजीका तर्फबाट आधिकारिक रुपमा कुनै पनि धारणा सार्वजनिक भएको छैन।
यसबाहेक सीजीले गत भदौमा नेपाल ल्याएको अर्को चिनियाँ ब्राण्ड डायुन पनि टाट पल्टिएको खबर आएको छ। उक्त कम्पनीले नियमित रुपमा सञ्चालनमा नै समस्या आएपछि हाल उक्त कम्पनी नै टाट पल्टिएको घोषणा गरेको बताइएको छ।
प्रकाशित: ३० कार्तिक २०८१, शुक्रबार