Technology Khabar ३० कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
आईफोन निर्माता एप्पलले भारतमा आफ्नो नयाँ अनुसन्धान र विकासको लागि सहायक कम्पनी सुरु गरेको छ। भारतमा सहायक कम्पनी स्थापना गर्ने यो कदमलाई एप्पलको आपूर्ति श्रृंखला र चीन बाहिर अनुसन्धानका लागि महत्वपूर्ण मानिएको छ।
एप्पलको यो सहायक कम्पनीले तेस्रो पक्ष निर्माताहरूलाई अनुसन्धान, डिजाइन, परीक्षण-प्रदान र सहयोग उपलब्ध गराउने काम गर्ने भारतीय समाचार एजेन्सी आईएएनएसले रिपोर्ट गरेको छ।
बजार विज्ञहरूका अनुसार भारतमा अनुसन्धान र विकास सुविधा स्थापना गर्न एप्पलको कदम महत्त्वपूर्ण छ किनभने यसले कम्पनीलाई स्थानीय उत्पादन इकोसिस्टम बुझ्न, मूल उपकरण निर्माताहरू (ओईएमहरु) सँग राम्रो सम्पर्क गर्न सहयोग प्राप्त हुनेछ र भारत-विशेष उत्पादनहरू र समाधानहरू सिर्जना गर्न अनुमति दिनेछ।
एप्पलको हाल अमेरिका, चीन, जर्मनी र इजरायलमा अनुसन्धान र विकास सुविधाहरू छन्। कम्पनीले अनुसन्धान र विकासका सम्बन्धमा भारतमा आफ्नो भावी योजनाको बारेमा अहिलेसम्म कुनै जानकारी दिएको छैन।
एप्पलले भारत र भियतनाममा आफ्नो उत्पादन योजनालाई द्रुत गतिमा अगाडि बढाइरहेको छ। व्यापार गर्न सजिलो र अनुकूल स्थानीय उत्पादन नीतिहरूबाट उत्साहित, एप्पलको ‘मेक इन इन्डिया’ आईफोनहरूले अघिल्लो सबै निर्यात रेकर्डहरू तोड्दै छन्।
कम्पनीका सीईओ टिम कुकका अनुसार भारतमा थप चारओटा आफ्नै ब्राण्डेड रिटेल स्टोर खोल्ने तयारी भइरहेको छ।
पछिल्लो उद्योग तथ्याङ्क अनुसार, भारतबाट आईफोन निर्यात २०२२-२३ मा ६.२७ बिलियन डलरबाट २०२३-२४ मा १० अर्ब डलर नाघेको छ।
एप्पलले गत आर्थिक वर्षमा भारतमा १४ अर्ब डलरको आईफोन एसेम्बल गरेको थियो र १० अर्ब डलरभन्दा बढी मूल्यका उपकरणहरू निर्यात गरेको थियो।
प्रकाशित: ३० कार्तिक २०८१, शुक्रबार