प्राविधिक विषय पढाउँदै कर्णाली प्रदेश सरकार

  • Technology Khabar | २६ कार्तिक २०८१, सोमबार
प्राविधिक विषय पढाउँदै कर्णाली प्रदेश सरकार
सांकेतिक तस्बिर

काठमाडौं ।

बर्सेनि प्राविधिक कर्मचारीको अभाव झोलिरहेको कर्णाली प्रदेशले आफ्नै लगानीमा विद्यार्थीलाई प्राविधिक पढाउँदै छ। चिकित्सा, इन्जिनियरिङ, प्रविधि, भेटेरिनरी, कृषि, फार्मेसो र वन विषयमा गरी ६२ जनालाई कर्णाली प्रदेश सरकारले छात्रवृत्ति दिएर पढाइरहेको छ। पढाइ सकेर फर्किएपछि उनीहरूले कम्तीमा दुई वर्ष कर्णाली प्रदेशमा सेवा गर्नुपर्ने छ।

कर्णाली प्रदेश सरकारले १० जना चिकित्सक पढाउँदै छ। १० जना इन्जिनियर १० जना प्रविधि, १० जना भेटेरिनरी, १० जना कृषि, नौ जना वन र आयुर्वेद, रेडियो, नर्सिङ, फार्मेसी गरी ६९ जनालाई पढाइरहेको छ । उनीहरू अहिले आआफ्ना विषयमा विभिन्न जिल्लामा अध्ययन गरिरहेका छन्।

कर्णालीका १० जिल्लाबाट प्रतिजिल्ला कम्तीमा एक/एक जना पर्ने गरी विद्यार्थी छनोट गरिएको छ । प्रदेश सरकारले शिक्षा विकास निर्देशनालयबाट उनीहरूको छात्रवृत्ति रकम प्रदान गर्दै आएको छ।

कालीकोटका निहान शाही वीरगन्जको नेसनल मेडिकल कलेजमा जाजरकोटका लक्सन साड़ी काठमाडौं मेडिकल कलेजमा, जुम्लाका विनोद रोकाया नेपालगन्ज मेडिकल कलेजमा, डोल्पाका कमला विष्ट नेपालगन्ज मेडिकल कजेलमा र दैलेखका आदित्य गौतम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबिबिएस अध्ययन गरिरहेका छन्।

यसै गरी रुकुमपश्चिमका विशाल केसी मणिपाल कलेज पोखरामा सल्यानका आकाश अधिकारी चितवन मेडिकल कलेजमा, सुर्खेतका राज पोखरेल काठमाडौं विश्वविद्यालयमा र हुम्लाका भुवन बुढा काठमाडौं मेडिकल कलेज र अङ्ग्ग्मु लामा नेपालगन्ज मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेका शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ।

मुगुमा एमबिबिएस पढ्ने विद्यार्थी नभएपछि त्यो कोटा हुम्लामा गाभिएको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० देखि उनीहरूले एमबिबिएस अध्ययन गर्ने छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ। एबिबिएस अध्ययन गर्न प्रतिविद्यार्थी चार लाख रुपियाँका दरले छात्रवृत्ति प्रदान गर्दै आएको शिक्षा विकास निर्देशक दीपा हमालले बताइन्।

गत वर्ष र यस वर्षको गरी प्रतिविद्यार्थी आठ लाख रुपियाँ गइसकेको छ। यसै गरी इन्जिनियरिङ अध्ययन गर्ने १० विद्यार्थी छनोट गरी एक लाख रुपियाँसम्मको छात्रवृत्ति प्रदान गरिसकिएको छ।

प्रविधि भेटेरिनरी, कृषि, वन तथा अन्य विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रतिवर्ष एक लाख रुपियाँसम्मको छात्रवृत्ति प्रदान गरिएको शिक्षा विकास निर्देशक हमालले जनाइन्।

प्रदेश सरकारले गत वर्षदेखि छात्रवृत्ति प्रदान गर्न लागेको हो। यस वर्ष सहित दोस्रो वर्ष छात्रवृत्ति प्रदान गरिएको छ। अध्ययन पूरा गर्ने बेलासम्म छात्रवृत्ति जारी राखिने उनले बताइन्। निर्देशक हमालले चिकित्सक पढ्ने विद्यार्थीको रकममा ४० प्रतिशत प्रदेश सरकारले बेहोरेको जानकारी दिइन्।

प्रदेश सरकारले छात्रवृत्ति दिएर पढाइरहेका विद्यार्थीको पढाइ के कस्तो छ भनेर रेकर्ड पनि राख्ने गरिएको छ। शिक्षा विकास निर्देशक हमालले प्रत्येक वर्ष अध्ययन गरिरहेका कलेजबाट उनीहरूको अध्ययन रिपोर्ट कार्ड माग्ने गरिएको बताइन्।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले छात्रवृत्ति प्रदान गरेका विद्यार्थी आफ्नो पढाइ सकेपछि कम्तीमा दुई वर्ष आफ्नै प्रदेशमा सेवा गर्नुपर्ने बताए। उनले पढाइमा छात्रवृत्ति प्रदान गर्दा उनीहरूको अध्ययनमा पनि सहज हुने र पछि प्रदेशमा अभाव भएका स्थानमा खटाउन सकिने जनाए।

कर्णालीमा चिकित्सकको अभाव बढी हुने भएकाले प्रदेश सरकारले छात्रवृत्ति दिएर पढाएकाले कम्तीमा पनि दुई वर्ष आफ्नै प्रदेशमा सेवा गर्दा प्रदेशको लगानी सदुपयोग हुने पनि उनको भनाइ छ।

आजको गोरखापत्रबाट

प्रकाशित: २६ कार्तिक २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches ‘Shake and Win’, surprise rewards to customers

  • Technology Khabar
  • २६ कार्तिक २०८१, सोमबार