

काठमाडौं ।
इटालीको प्रहरीले राज्यको डाटाबेसमा अवैध पहुँचको आरोपमा चार जनालाई पक्राऊ गरी घरमै नजरबन्दमा राखेको छ। यो अनुसन्धानमा लक्सोटिका कम्पनीका संस्थापक दिवंगत अर्बपति लियोनार्डो डेल वेच्चियोका छोरा लियोनार्डो मारिया डेल वेच्चियोसहित दर्जनौं व्यक्ति अनुसन्धानको दायरामा रहेको स्रोतलाई गर्दै रोयटर्सले उल्लेख गरेको छ।
लियोनार्डो मारिया डेल वेच्चियोका वकिलले वेच्चियो यस घटनासँग सम्बन्धित नरहेको प्रमाणित गर्न सकून् र उनीविरुद्धका आरोपहरू आधारहीन छन् भन्ने स्पष्ट गर्न सकून् भन्ने अपेक्षासहित आफू अनुसन्धानको अन्तिम नतिजाको प्रतीक्षामा रहेको बताएका छन् ।
“शुरुवाती आरोपहरू र खोजीको नतिजालाई हेर्दा उनी पीडितझैं देखिन्छन्,” वकिल मारिया इम्यानुएला मास्काल्चीले वक्तव्यमा भनिन्। यो कथित अवैध डाटाबेस पहुँच एक पूर्व प्रहरीद्वारा सञ्चालन गरिएको निजी गुप्तचर व्यवसायले गरेको घटनासँग प्रत्यक्ष सम्बन्धित एक व्यक्तिले रोयटर्सलाई बताए।
लियोनार्डो मारिया डेल वेच्चियोका पिता लियोनार्डो डेल वेच्चियोले रे-ब्यानको मालिक लक्सोटिका स्थापना गरेका थिए। ती व्यवसायीको निधन २०२२ मा भएको थियो।
ग्राहकलाई बेच्ने वा व्यवसायी र राजनीतिज्ञलाई ब्ल्याकमेल गर्न प्रयोग गरिएको आरोप लगाइएको गोप्य जानकारीको अवैध पहुँच कम्तीमा सन् २०१९ देखि मार्च २०२४ सम्म चलेको रोयटर्सले भेटेको अदालतको दस्तावेजले देखाएको बताइएको छ।
मिलानका अभियोजनकर्ताहरूका अनुसार उक्त गुप्तचर कम्पनीले शंकास्पद वित्तीय गतिविधिहरूको सूचना सङ्कलन गर्ने; राष्ट्रिय कर एजेन्सीले नागरिकको बैंक कारोबार, युटिलिटी बिलहरू र आय विवरण समावेश गर्ने; र प्रहरी अनुसन्धानको डाटाबेस गरी तीन मुख्य डाटाबेसमा पहुँच लिएको थियो ।
एएनएसए समाचार एजेन्सीले इटलीका राष्ट्रिय माफिया विरोधी अभियोजनकर्ता जियोभन्नी मेलिलोका शनिबारको वक्तव्यलाई उद्धृत गर्दै रिपोर्ट गरे अनुसार यो अनुसन्धानले “सतर्कताको घण्टी बजाएको” छ, किनकि यसले “गोप्य जानकारीको विशाल बजार” उजागर गरेको छ, जसले “व्यवसायिक जस्तै रूप” लिएको छ, ।
यो अनुसन्धान इटलीको शीर्ष बैंक इन्टेसा सान्पाओलोमा भएको ठुलो डाटा चोरीको पछिल्लो अनुसन्धान रहेको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: १३ कार्तिक २०८१, मंगलवार