Technology Khabar ११ कार्तिक २०८१, आईतवार

काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले गणतन्त्र चीनका प्रसिद्ध वैज्ञानिक एवं प्राध्यापक विङडिङलाई सम्मान गरेका छन्।
सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यसम्बन्धी १६ देशका वैज्ञानिकको सहभागितामा यहाँ आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले आज उनलाई अभिनन्दन गरेका हुन्।
उक्त गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपायका साथै पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको थियो ।
छलफलमा सहभागी सबैलाई मन्त्री पाण्डेले कृतज्ञता व्यक्त गर्दै भने, “आज हामी एउटा विशेष सन्दर्भले जोडिएका छौँ । विश्व प्रसिद्ध वैज्ञानिक विङडिङलाई सम्मान गर्दैछौँ । चीनमा ‘डिस्टिङगुइस योङ साइन्टिस्ट’ र ‘चाङजियाङ’को उपाधि प्राप्त गरिसक्नुभएका उहाँ विश्वका दुई प्रतिशत वैज्ञानिकभित्र पर्नुहुन्छ ।”
वैज्ञानिक विङडिङले चार सय ७० भन्दा धेरै अनुसन्धानमूलक लेख लेखेको उल्लेख गर्दै मन्त्री पाण्डेले प्रविधिको क्षेत्रमा गरिएका अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा उहाँको योगदान अतुलनीय रहेको बताए। पूर्वी एसिया र दक्षिण एसियालाई जोड्ने पुलका रूपमा काम गर्ने वैज्ञानिक विङडिङलाई नेपालमा स्वागत गर्नु दुई देशबीचको सम्बन्ध सुमधुर बन्दै जानु हो उनले भने।
पर्यटनमन्त्री पाण्डेले नेपाल र चीनबीच पुरानो सुमधुर सम्बन्ध रहेको बताउँदै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ आएको अभिलेख र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्याएको अभिलेखसमेत रहेको जानकारी दिए।
सुदूरपश्चिम विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकसित गर्न चिनियाँ विश्वविद्यालय र सरकारलाई आवश्यक सहयोग गरिदिनसमेत उनले अनुरोध गरे। मन्त्री पाण्डेले सहभागी सबैलाई नेपालको प्राकृतिक र सांस्कृति रुपमा सम्पन्न मुलुक भएकाले यहाँ घुम्न आउन अनुरोध गरे।
अभिनन्दन कार्यक्रममा चीनका वैज्ञानिक विङडिङले नेपालीमा प्राप्त भएको सम्मान सदैव स्मरण गर्ने बताए। उनले नेपाली विद्यार्थीलाई आफू मातहतमा अध्ययन तथा अनुसन्धानमा लगाउन नपाएको उल्लेख गर्दै उनले उनीहरुलाई आफूसँग जोडिन आग्रह गरे। प्राध्यापक विङडिङको मातहतमा एक सय १४ नेपाली विद्यार्थीले विद्यावारिधि गरिरहेका छन्। रासस
प्रकाशित: ११ कार्तिक २०८१, आईतवार