सूर्यमा फेरि आयो अर्को ‘सौर्य आँधी’, अमेरिकाभरी रेडियो सिग्नल ‘ब्ल्याक आउट’

  • Technology Khabar | २४ आश्विन २०८१, बिहीबार
सूर्यमा फेरि आयो अर्को ‘सौर्य आँधी’, अमेरिकाभरी रेडियो सिग्नल ‘ब्ल्याक आउट’
तस्बिर सौजन्य: सीजीटीएन सांकेतिक तस्बिर

काठमाडौं ।

सूर्यको पश्चिमी किनाराबाट बाहिरिँदै गर्दा सूर्यको धब्बा अर्थात् सनस्पट एआर ३८४२ अझै सक्रिय रहँदैछ र यसले गत सोमबार दिउँसो (अक्टोबर ७) एक्स२.१ स्तरको सौर्य फ्लेयर प्रक्षेपण गरेको छ।

यो धब्बाले यसअघि अक्टोबर ३ (बिहीबार) मा सात वर्षयता सबैभन्दा शक्तिशाली एक्स ९.०५ सौर्य फ्लेयर पनि प्रक्षेपण गरेको थियो। सोमबारको एक्स२.१ फ्लेयर अपराह्न ३:१३ ईडीटी (बेलुकी१९:१३ जीएमटीमा) मा प्रक्षेपण भएको स्पेस डटकमले उल्लेख गरेको छ।

सौर्य फ्लेयरहरूलाई चार श्रेणीमा वर्गीकृत गरिन्छ, जुन सबैभन्दा कम शक्तिशाली B-श्रेणीबाट सुरु भएर सबैभन्दा शक्तिशाली X-श्रेणीमा समाप्त हुन्छ। सौर्य फ्लेयरबाट निकालिएको सबैभन्दा शक्तिशाली ऊर्जा विस्फोट २००३ मा X45 अनुमान गरिएको थियो।

यद्यपि यो सोमबारको एक्स२.१ फ्लेयर त्यति शक्तिशाली भने थिएन, यसले उल्लेखनीय मात्रामा अल्ट्राभायोलेट अर्थात् परावैजनी विकिरण उत्पन्न गर्‍यो, जसले उत्तर र दक्षिण अमेरिकाका साथै प्रशान्त महासागरमा पनि सर्टवेभ रेडियोका सिग्नलहरुमा अवरोध (ब्ल्याकआउट) गरायो।

अमेरिकाको राष्ट्रिय समुद्रिक र वायुमण्डलीय प्रशासन (एनओएए) का वैज्ञानिकहरूले आफ्नो पूर्वानुमानमा सोमबारको विस्फोटबाट सौर्य कोरोनाबाट एउटा कोरोनल मास इजेक्शन (सीएमई) फालिएको पुष्टि गरे। यसबेला उक्त सीएमई पृथ्वी तर्फ गइरहेको छ कि छैन र त्यसले कुनै प्रभाव पार्छ कि पार्दैन भन्नेबारे पूर्वानुमानकर्ताहरू अझै डाटा विश्लेषण गरिरहेका छन्।

सीएमई भनेको सूर्यको बाहिरी वायुमण्डल (कोरोना) बाट हुने ठूलो विस्फोट हो, जसमा चुम्बकीय क्षेत्र र प्लाज्माको मिश्रण हुन्छ। यस्ता ऊर्जावान कणहरूको विस्फोटलाई पृथ्वीमा पुग्न केही दिन लाग्छ र यी कणहरूले पृथ्वीको चुम्बकीय क्षेत्रसँग अन्तरक्रिया गर्छन्। कोरोनाग्राफ डाटामार्फत सीएमईको गति र दिशा बुझ्न मद्दत पुग्छ।

पृथ्वीतर्फ गइएरहेको सीएमईले सहरहरूमा औरोरा (उत्तरी र दक्षिणी आकाशमा देखिने शक्तिशाली रंगीचंगी प्रकाशहरु) प्रदर्शन गराउने गर्छ, तर यस्ता सीएमईहरूलाई निगरानी गर्नु पर्छ किनकि तिनीहरुले स्याटलाइट तथा र पावर ग्रिडहरूमा असर पार्न सक्छन्।

एनओएएको स्पेस वेदर स्केल्सले भू-चुम्बकीय आँधीहरू, सौर्य विकिरण आँधीहरू र रेडियो ब्ल्याकआउटहरूको असरलाई १ देखि ५ को मापनमा राखेर व्याख्या गर्छ, जसको आधारमा ती प्रभावहरूको गम्भीरता मापन गरिन्छ।

प्रकाशित: २४ आश्विन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...