ताजा समाचार

ग्रामीण ब्रोडब्याण्डका लागि स्टारलिंकलाई तोकिएको रकम अनुदान नदिएकोमा एफसीसीविरुद्ध अनुसन्धान हुँदै

ग्रामीण ब्रोडब्याण्डका लागि स्टारलिंकलाई तोकिएको रकम अनुदान नदिएकोमा एफसीसीविरुद्ध अनुसन्धान हुँदै
Global IME Bank

अमेरिकी संसदको एक समितिले संघीय सञ्चार आयोग (एफसीसी) द्वारा स्पेसएक्सको स्याटलाइट इन्टरनेट इकाई स्टारलिंकलाई ग्रामीण ब्रोडब्यान्ड सब्सिडी अन्तर्गत ८८५.५ मिलियन डलर दिन अस्वीकृत गरेको निर्णयको अनुसन्धान गरिरहेको सोमबार बताएको छ।

एफसीसीले डिसेम्बरमा आफ्नो अडान दोहोर्याउँदै इलन मस्कको स्पेस कम्पनी स्टारलिंकले आधारभूत कार्यक्रम आवश्यकताहरू पूरा गर्न नसकेको र वाचा गरिएको सेवा प्रदान गर्न सक्षम रहेको देखाउन नसकेकाले यो निर्णय गरिएको बताएको थियो। यो निर्णयविरुद्ध स्पेसएक्सले सन् २०२२ मा चुनौती दिएको थियो।

संसदको हाउस ओभरसाइट कमिटीका अध्यक्ष रिपब्लिकन जेम्स कोमरले सोमबार एफसीसीलाई पत्र पठाएर अक्टोबर २१ सम्ममा उक्त निर्णयसँग सम्बन्धित कागजात बुझाउन अनुरोध गरेका छन्।

समितिले एफसीसीले स्थापित प्रक्रियाहरूको पालना गरेको छ कि छैन र नियामक प्रक्रियालाई राजनीतिक उद्देश्यका लागि दुरुपयोग गरिएको छैन भनेर सुनिश्चित गर्न खोजिरहेको रोयटर्सले जनाएको छ।

एफसीसीले उक्त पत्र प्राप्त गरेको पुष्टि गर्दै जवाफ दिने बताएको छ। डिसेम्बर सन् २०२० मा एफसीसीले ३०० भन्दा बढी बोलकबोलकर्ताहरुलाई उच्च गतिको ब्रोडब्यान्ड सञ्चालन गर्नका लागि लगभग ९.२ बिलियन डलर अनुदान दिएको थियो जसमा स्पेसएक्सको स्टारलिंकको भागमा ग्रामीण सेवाका लागि ८८५.५ मिलियन डलर मिलियन परेको थियो।

इलन मस्कले एफसीसीको निर्णयलाई “अवैध” भन्दै कडा आलोचना गरेका छन्। उनले गत साता यदि स्टारलिंकले उक्त रकम पाएको भए “यो सम्भवतः उत्तर क्यारोलिनामा हुर्रिकेन हेलेनको समयमा मानिसहरूको ज्यान जोगाउन सक्थ्यो” भनेका थिए।

एफसीसीकी अध्यक्ष जेसिका रोसेनवोर्सलले फेब्रुअरीमा सार्वजनिक रूपमा उपलब्ध स्टारलिंकको प्रदर्शन डाटा अनुसार एफसीसीको अघिल्लो निष्कर्ष सही थियो, जसमा स्टारलिंकले कार्यक्रमका आधारभूत अपलिंक र डाउनलिंक स्पीड मापदण्डहरू पूरा गर्न कठिनाइ झेलिरहेको देखिएको बताएकी थिइन्। साथै स्टारलिंकको प्रस्तावले ग्राहकहरूलाई $600 मूल्यको डिश खरिद गर्नुपर्ने शर्त राखेको थियो।

एफसीसीका पाँच सदस्यीय टोलीका दुई रिपब्लिकन आयुक्तहरूले यो निर्णयमा असहमति जनाउँदै एफसीसीले स्पेसएक्सलाई सन् २०२५ का लक्ष्यहरू समयअघि नै पूरा गर्न दबाब दिएको बताएका छन्।

Sajilo Visa
easy care