ओपनएआईले यो वर्ष उठायो ३.७ अर्ब डलर राजस्व, ५ अर्ब डलर घाटा हुने प्रक्षेपण

Technology Khabar १४ आश्विन २०८१, सोमबार

काठमाडौं ।

च्याटजीपीटी निर्माता ओपनएआईले यो वर्ष ३.७ अर्ब  डलर राजस्व कमाएको र करिब ५ अर्ब डलर घाटा हुने प्रक्षेपण गरेको छ। यो जानकारी समाचार संस्था सीएनबीसीलेपुष्टि गरेको हो।

कम्पनीले गत महिना ३० करोड डलर राजस्व कमाएको थियो, जुन गत वर्षको सुरुदेखि १७०० प्रतिशतले बढेको हो। अर्को वर्ष कम्पनीले ११.६  अर्ब डलरको बिक्री हुने अपेक्षा गरिएको छ।

न्युयोर्क टाइम्सले शुक्रबार कम्पनीका कागजात हेरेपछि पहिलोपटक ओपनएआईको आर्थिक स्थिति सार्वजनिक गरेको थियो। माइक्रोसफ्टको सहयोगमा रहेको ओपनएआई अहिले नयाँ लगानी जुटाउने प्रयासमा छ, जसले कम्पनीको मूल्य १५० अर्बभन्दा बढी पुर्‍याउने छ।

थ्राइभ क्यापिटलले यो राउन्डको नेतृत्व गर्दैछ र १ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ भने टाइगर ग्लोबल पनि यसमा सामेल हुने योजना छ।

ओपनएआईका सीएफओ साराह फ्रायलले बिहीबार लगानीकर्ताहरूलाई पठाएको इमेलमा यो लगानी राउन्ड ओभरसब्स्क्राइब भएको र अर्को हप्ताभित्र बन्द हुने बताइन्।

उनको यो नोट विशेषगरी प्राविधिक प्रमुख मिरा मारुतीले ६ वर्ष पछि कम्पनी छोड्ने घोषणा गरेपछि र अन्य धेरै महत्वपूर्ण व्यक्तिहरूको प्रस्थान पछि आएको हो सीएनबीसीले उल्लेख गरेको छ।

यस हप्ताको समाचार अनुसार ओपनएआईको बोर्डले कम्पनीलाई लाभमुखी व्यवसायमा पुन: संरचना गर्ने योजना विचार गरिरहेको छ। कम्पनीले आफ्नो गैर-नाफामूलक खण्डलाई छुट्टै इकाइको रूपमा कायम राख्नेछ।

यस संरचनाले लगानीकर्ताहरूका लागि सहजता ल्याउने र कर्मचारीहरूले लगानीको लाभ लिन सजिलो हुने बताइएको छ।

वओपनएआईका सेवा, विशेषगरी च्याटजीपीटी सुरु भएपछि, व्यापक रूपमा लोकप्रिय भएका छन्। कम्पनीले विभिन्न उपकरणहरूको सदस्यता बिक्री गर्छ र यसको जीपीटी मोडलहरूको लाइसेन्स दिन्छ, जसले अहिलेको जेनेरेटिभ एआई वृद्धिमा ठूलो भूमिका खेलिरहेको छ। यी मोडलहरू चलाउन विशेष गरी एनभिडियाका ग्राफिक्स प्रोसेसिङ युनिटहरूमा ठूलो लगानी आवश्यक हुन्छ।

टाइम्सले ओपनएआईका कागजात समीक्षा गरेका वित्तीय विज्ञलाई उद्धृत गर्दै यस वर्षको ५ अर्ब घाटा सेवाहरू सञ्चालन गर्ने लागत, कर्मचारीहरूको तलब र अफिस भाडासँग सम्बन्धित छ। लागतमा इक्विटी-आधारित क्षतिपूर्ति समावेश छैन, जसलाई कागजातहरूमा पूर्ण रूपमा स्पष्ट गरिएको थिएन।

प्रकाशित: १४ आश्विन २०८१, सोमबार

तपाइको प्रतिक्रिया