भारतका आईफोन र म्याकबुक प्रयोगकर्तालाई सरकारले किन दियो ठूलो ‘सुरक्षा खतरा’ को संकेत?

Technology Khabar ८ आश्विन २०८१, मंगलवार

काठमाडौं ।

भारतका एप्पल प्रयोगकर्ताहरूलाई यसै हप्ता भारत सरकारको नोडल सुरक्षा निकायले नयाँ सुरक्षा चेतावनी दिएको छ। इन्डियन कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टीम (CERT-In) ले गत असोज ३ गते उच्च गम्भीरताको साथ यो चेतावनी जारी गरेको न्युज१८ ले उल्लेख गरेको छ।

यो सुरक्षा समस्या ठूलो छ किनभने यसले आईफोन, आईप्याड, एप्पल वाच श्रृंखला र म्याकबुकजस्ता प्रमुख एप्पल उपकरणहरूलाई प्रभावित गर्छ।

CERT-In का अनुसार यी सुरक्षा कमजोरीहरूले आक्रमणकारीलाई संवेदनशील जानकारीमा पहुँच पुर्‍याउन, मनमानी कोड चलाउन, सुरक्षा प्रतिबन्धहरूलाई बाइपास गर्न, सेवा अस्वीकारको स्थिति सिर्जना गर्न, प्रमाणिकरणलाई बाइपास गर्न, उच्चाधिकार प्राप्त गर्न र लक्षित प्रणालीहरूमा स्पुफिङ आक्रमण गर्न सहयोग गर्न सक्छ।

भारतमा CERT-In द्वारा जारी गरिएको चेतावनी अनुसार विभिन्न एप्पल उपकरणहरूमा रहेका सुरक्षा कमजोरीहरूलाई समाधान गर्न प्रयोगकर्ताहरूले आफ्नो उपकरणको सफ्टवेयरलाई तुरुन्तै अद्यावधिक गर्नु आवश्यक छ। यहाँ प्रभावित सफ्टवेयर संस्करणहरू र उपकरणहरूको सूची दिइएको छ:

  • एप्पल आईओएस र आईप्याडओएस: १८ भन्दा पहिलेका संस्करणहरू
  • एप्पल आईओएस र आईप्याडओएस: १७.७ भन्दा पहिलेका संस्करणहरू
  • एप्पल सफारी: १८ भन्दा पहिलेका संस्करणहरू
  • एप्पल वाचओएस: ११ भन्दा पहिलेका संस्करणहरू
  • एप्पल टीभी: १८ भन्दा पहिलेका संस्करणहरू
  • एप्पल म्याकओएस भेन्चुरा: १३.७ भन्दा पहिलेका संस्करणहरू
  • एप्पल म्याकओएस सोनोमा: १४.७ भन्दा पहिलेका संस्करणहरू
  • एप्पल भिजनओएस: २ भन्दा पहिलेका संस्करणहरू

यो सूचीमा पछिल्लो प्रमुख उपकरणहरू जस्तै आईफोन १५ प्रो म्याक्सका साथै पुराना आईफोन मोडेलहरू पनि यो सुरक्षा खतराबाट प्रभावित छन्। न्युज१८ का अनुसार यो सूचीमा म्याकबुक, भिजनप्रो हेडसेट, एप्पिलवाच सिरिज ८ र एप्पल टीभी पनि समावेश छन्।

त्यस्तै, विभिन्न आईप्याड र आईप्याड प्रो मोडेलहरू पनि यसमा समावेश छन्। पुराना आईफोन ८, ८ प्लस र आईफोन एक्स प्रयोगकर्ताहरूले पनि यो सुरक्षा जोखिमबारे सचेत रहन आवश्यक छ।

यसका आधारमा प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो उपकरणमा नयाँ अपडेट स्थापना गरेर यो सुरक्षा जोखिमबाट जोगिनु पर्ने भारत सरकारको भनाई छ। यसका लागि आफ्नो आईफोन, आईप्याड वा अन्य एप्पल डिभाइसमा General > Settings > Software Update मा गएर सफ्टवेयर अद्यावधिक गर्न सकिने बताइएको छ।

प्रकाशित: ८ आश्विन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया