नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई अन्तिम मौका, सरकारले फेरी सोध्यो स्पष्टिकरण

  • Technology Khabar | २५ श्रावण २०७५, शुक्रबार
नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई अन्तिम मौका, सरकारले फेरी सोध्यो स्पष्टिकरण

काठमाडौं ।

अनुज राज । काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले पुन स्पष्टिकरण सोधेको छ । सरकारले प्रबन्ध निर्देशक राजभण्डारीलाई पदबाट किन नहटाउने भनेर ३ दिने स्पष्टिकरण सोधेको हो।

सरकारको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्रालयले प्रबन्ध निर्देशक राजभण्डारीलाई स्पष्टिकरण पत्र पठाउँदै तपाईँलाई पदबाट किन नहटाउने भन्ने प्रश्न सोधेको हो।

सरकारले यसअघि दिएको ११ बुँदे निर्देशनसहितको जिम्मेबारी सन्तोषजनक नभएपछि उनलाई स्पष्टिकरण सोधिएको सो विषयमा जानकार मन्त्रालय स्रोतले बतायो।

‘उनको काम गराई र कार्यदक्षता अझै नदेखिएको र सरकारको निर्देशनअनुसारको काम समेत नभएको हुँदा उनलाई अन्तिम मौका दिईएको हो,’ स्रोतले टेक्नोलोजीखबरसँग भन्यो।

हालको स्पष्टिकरण पत्रअनुसार उनले ३ दिनभित्र जवाफ पेश गर्नुपर्ने हुन्छ र सो चित्त नबुझेमा सरकारले उनलाई पदबाट बर्खास्त गर्नसक्ने स्रोतको भनाई छ।

यसअघि वैशाख १४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिकमको सेवाप्रति असन्तुष्टि जनाउँदै सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन निर्देशन दिएका थिए । उनले त्यसबेला टेलिकमको बारेमा जानकारी दिँदै टेलिकमभित्र मुसा प्रवृत्ति रहेको बताएका थिए।

सोहि आधारमा मन्त्रालयले वैशाख २५ गते उनलाई सात दिने स्पष्टिकरण सोध्दै तपाईँलाई जिम्मेबारीबाट किन बर्खास्त नगर्ने भन्ने प्रश्नको जवाफ दिन भनेको थियो।

तत्कालिन स्पष्टिकरणमा टेलिकम प्रबन्ध निर्देशक राजभण्डारीको जवाफ आएपछि सोहि आधारमा सरकारले जेठ २५मा प्रबन्ध निर्देशक राजभण्डारीलाई ११ बुँदे कार्ययोजनासहित निर्देशन दिएको थियो ।

यो पनि हेर्नुहोस्-

नेपाल टेलिकमको सेवा सुधार गर्न प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई स्पष्टिकरण पत्र, दूरसंचार प्राधिकरणलाई निर्णय नगर्न निर्देशन

टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई मन्त्रिपरिषदको निर्देशन, के छ ११ बुँदे निर्देशन पत्रमा ?

टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई निर्देशन( सेवा बिस्तारदेखि बजार नीतिसम्म ध्यानदेऊ

 

 

प्रकाशित: २५ श्रावण २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...