Technology Khabar २ आश्विन २०८१, बुधबार
काठमाडौं ।
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माका बुवा दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा आज निधन भएको छ।
केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आएका शर्मालाई आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो।
उनको दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ। शर्माको पार्थिक शरीर आज साँझ घोराही १८ मसिनास्थित निवासमा पुर्याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ।
उनको अन्त्येष्टि भोलि बिहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने शर्माका ज्वाईँ कृष्णध्वज खड्काले जानकारी दिए। शर्माको विसं १९९७ साल जेठ १५ गते जन्म भएको थियो।
नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गरेका वरिष्ठ साहित्यकार शर्माका झण्डै एक दर्जन कृति प्रकाशित छन् भने सयौं कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। उनी निवृत्त शिक्षक पनि हुन् भने उनका चार छोरी र एक छोरा छन्।
प्रकाशित: २ आश्विन २०८१, बुधबार