ग्रीन हाइड्रोजन अनुसन्धाता डा. थापासहित ९ जनालाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन २०८१ पुरस्कार

Technology Khabar २ आश्विन २०८१, बुधबार

काठमाडौं ।

काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. विराज सिंह थापालगायत ९ जनालाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन २०८१ बाट पुरस्कृत गरिएको छ।

१२ औं विज्ञान दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सबैलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन २०८१ पुरस्कृत गरेकी हुन्।

यो वर्षको विज्ञान दिवसको नारा ‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ रहेको थियो। पुरस्कृत डा. थापा लामो समयदेखि ग्रीन हाइड्रोजन प्रविधिमा अध्ययन अनुसन्धानमा लाग्दै आएका व्यक्ति हुन्।

नेपालमा पहिलो पटक हाइड्रोजन उत्पादन गरेको ग्रीन हाइड्रोजन ल्याब डा. थापाकै नेतृत्वमा रहेको छ। डा. थापाले नै व्यक्तिगत पहल गरेर केही समयअघि नेपालमा पहिलो पटक दक्षिण कोरियाबाट हाइड्रोजन कार ल्याइएको थियो।

१२ औं राष्ट्रिय विज्ञान दिवसका अबसरमा मङ्गलबार आयोजित कार्यक्रममा उनीहरूलाई पुरस्कृत गरिएको हो। पुरस्कृत हुने अन्य व्यक्तित्वहरुमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. पवनकुमार हमाल, काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक डा. नानी राउत रहेका छन्।

यस्तै पुल्चोक इन्जिनियरिङ क्याम्पसका तहप्राध्यापक डा. श्रीराज शाक्य, कृषि तथा वन विज्ञान विश्वबिद्यालयका प्राडा माधवप्रसाद पाण्डेय, त्रिभुवन वैश्वविद्यालयका सहप्राध्यापक डा. विनोद दबाडी, श्री पृथ्वी माध्यमिक विद्यालय काठमाडौंका विज्ञान शिक्षक योगेन्द्रप्रसाद बसौला, नेपाल विशेष अनलाइनका छत्र कार्की र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सिडिई मनिषा महर्जनलाई पनि पुरस्कृत गरिएको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: २ आश्विन २०८१, बुधबार

तपाइको प्रतिक्रिया