सामाजिक सञ्जालमा कम्पनीविरुद्ध भ्रामक जानकारी लेखेको भन्दै पाण्डेविरुद्ध कानुनी कारबाहीमा जाने जेननेक्स्टको तयारी

Technology Khabar ३१ भाद्र २०८१, सोमबार

काठमाडौं ।

नेपालको लागि एप्पलको आईफोनको आयात तथा वितरणका लागि एक मात्र आधिकारिक कम्पनी जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालि (जेननेक्स्ट)ले सामाजिक सञ्जालमा कम्पनीविरुद्ध भ्रामक जानकारी लेख्ने पाण्डेका विरुद्ध कानूनी कारबाहीमा जाने तयारी गरेको छ।

सन् २०१२ देखि आईफोन आयात तथा वितरण गर्दै आएको कम्पनीले आज एक विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो। यसले नेपालमा आईफोनका साथसाथै एप्पलका अन्य उत्पादनहरु समेत आयात गर्ने र वितरण गर्ने गर्दछ।

जेनेरेसन नेक्स्ट कम्युनिकेशन्स प्रा लि सन् २००३ मा स्थापित भएको हो र अहिले विश्व प्रसिद्ध मोबाइल फोन, आईटी उत्पादन र उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डहरूको दायराको व्यवसायमा संलग्न रहेको उल्लेख छ।

नेपालमा सूचना प्रविधिको व्यवसाय गर्दै आएका रुद्रराज पाण्डेले नेपाल दूरसञ्चार प्राधिकरण र त्यसका कर्मचारीहरुमाथि बिना प्रमाण सामाजिक सञ्जालमार्फत गम्भीर आरोप लगाएको कम्पनीले उल्लेख गरेको छ।

कम्पनीका अनुसार हाल अमेरिकामा रहेका पाण्डेले आफ्नो डियरवाक ग्रुप अन्तरगत रहेको कम्पनी डियरकम्पवेयर लिमिटेडले नेपालमा आईफोन आयात गर्न प्रयास गरेको र त्यसमा प्राधिकरणले स्वीकृति नदिएको भन्दै हालै आफ्नो सोसल मिडिया पोस्ट मार्फत आरोप लगाएका छन्।

जेननेक्स्टका अनुसार पाण्डेले आफ्नो अर्को कम्पनीका लागि किनेका आइफोनहरु सिधै दुबईबाट आयात गरेर अवैध वा गैरकानूनी रुपमा नेपालमा ल्याउन खोजेको देखिन्छ।

उनको कम्पनीले उत्पादक निर्माता वा ब्राण्ड कम्पनीसँगको कुनै सम्झौता नगरी सिधै ‘मैले किन आयात गर्न नपाउने?’ भन्ने जिकिर गरेकाले त्यो  आफैंमा प्रचलित कानुनको विपरीत रहेको जेननेक्स्टको बुझाई छ।

‘कागजात नपुर्याई आयात गर्न खोज्नु अवैध मात्र नभई सरकारी राजस्व गुम्ने र ग्रे मार्केटलाई समेत प्रसय दिने हुन्छ। निज पाण्डेको आरोपको खण्डन गरी आम उपभोक्ता र सचेत नेपाली नागरिकलाई सही सूचना दिनु हाम्रो पनि कर्तव्य ठानी यो प्रेस विज्ञप्ति जारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

जेननेक्स्टले एप्पलसँग पछिल्लो पटक अगस्ट ५, २०२४ मा आधिकारिक सम्झौता अपडेट गरेको कम्पनीको दाबी छ। उक्त सम्झौता पत्र ‘एनडीए’ अर्थात नन डिस्क्लोजर एग्रीमेन्ट भएको हुँदा बाहिर सार्वजनिक गर्न नमिल्ने भए पनि कम्पनी वा नेपाल दूरसञ्चार प्रासधकरण (एनटीए) बाट हेर्न सकिने बताइएको छ।

सोही सम्झौता पत्र र अन्य कागजातका आधारमा जेननेक्स्टले नेपालमा आधिकारिक रुपमा आईफोन आयात र वितरण गर्दै आएको प्रष्ट हुने कम्पनीले बताएको छ।

जेननेक्स्टले आयात गरेर नेपालमा ओलीज स्टोर, इभो स्टोर लगायतका अन्य रिटेल कम्पनीहरुलाई आइफोन उपलब्ध गराउँदै आएको छ र सोही स्टोरहरुमार्फत आइफोन बेचिने गरेको छ।

के हो टाइप अप्रुभल?

टाइप अप्रुभल भनेको सिधा भाषामा रेडियो टेलिकम्युनिकेसन्स उपकरणहरुको निश्चित आयातमा सरकारले कानून अनुसार दिने अनुमति हो।

अर्थात नेपालमा भित्रने मोबाइल फोन, राउटर, स्मार्टवाच स्मार्टब्याण्ड, ट्याबलेट लगायतका सिमसहितको जीपीएस ट्र्याकरलगायतका उपकरणहरुका लागि उक्त अनुमति चाहिन्छ। यसमा सिम प्रयोग हुने गर्दछ र आईएमईआई नम्बर राखिएको हुन्छ।

एनटीएले दिने दूरसञ्चार ऐनको दफा १३ र १४ अनुसार टाइप अप्रुभलको लागि प्राधिकरणले गाइडलाइन नै बनाएको छ जसलाई बुझ्ने भाषामा ट्याब -४ भनेर चिनिने र त्यो वेबसाइटमा सबैका लागि उपलब्ध भएको कम्पनीले प्रस्ट्याएको छ।

‘यसरी नेपालको प्रचलित नियम कानुनको अधिनमा रहेर वर्षोदेखि नेपाली जनतालाई सूचना प्रविधिमा उपयोग हुने एप्पलका उपकरणहरु बिक्री वितरण गर्दै आएकामा कुनै एक व्यक्तिले अनधिकृत ढङ्गबाट आफ्ना उत्पादनहरुलाई गैरकानुनी रुपमा नेपालमा आयात गर्न नपाएको आक्रोसमा जथाभावी टिप्पणी गर्ने, राज्यको आधिकारिक निकायको विश्वसनीयता माथि प्रश्न उठाउने र राज्यको राजस्वमा ने कमी ल्याउने अभिप्रायले जसरी दुस्प्रचार गर्न खोजिएको छ त्यसको हामी घोर भत्र्सना गर्दछौं, विज्ञप्तिमा उल्लेख छ।

आगामी दिनमा पनि निराधार प्रचार गर्ने, ब्राण्डको प्रतिष्ठामा आँच पुर्याउने जस्ता हर्कतलाई दोहोर्याएमा बाध्य भएर कानुनी उपचारमा जानुपर्ने कम्पनीले बाध्यात्मकरुपमा सचेत गराएको छ।

साथै कम्पनीको बारेमा सामाजिक सञ्जालहरुमा लेखिएका भ्रामक र गैर कानूनी विषयहरुमा ध्यान नदिन र एक मात्र आधिकारिक आयातकर्ता तथा वितरकबाट एप्पलका उत्पादनहरु खरिद गर्न समेत सबैलाई आग्रह गरिएको छ।

के लेखेका थिए पाण्डेले सामाजिक सञ्जालमा?

नेपालमा सूचना प्रविधिको उद्यम व्यवसाय गर्दै आएका व्यवसायी तथा उद्यमी रुद्र राज पाण्डेले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) र त्यसका कर्मचारीहरुले घुस खाएको गम्भीर आरोप सामाजिक सञ्जालमार्फत लगाएका थिए।

आफ्नो डियरवाक ग्रुप अन्तरगत रहेको कम्पनी डियरकम्पवेयर लिमिटेडले नेपालमा आईफोन आयात गर्न प्रयास गरेको भन्दै त्यसमा दूरसञ्चार प्राधिकरणले घुस खाएको गम्भीर आरोप आफ्नो दुईओटा फेसबुक पेज र एक्स पोस्ट लेखेका थिए।

सेप्टेम्बर ११ तारिखमा राखिएको भएको उक्त पोस्टमा उनले तीन महिना अगाडि एनटिएमा आईफोन आयातको लागि आफ्नो कम्पनी अनुमति पत्र माग्न गएको र त्यसमा प्राधिकरणले अनुमति नदिएको आरोप लगाएका थिए।

उनले डियरवाक ग्रुपको एप्पलसँगको सम्झौता हुनुपर्ने कागत माग गरिएको र तर आफूसहितका कुनै कम्पनीसँग नभएको दाबी गर्दै एनटीएले जेननेक्स्ट नामक कम्पनीसँग घुस खाएर उक्त कम्पनीलाई इजाजत दिएको दावी पनि गरेका थिए।

उनले जेननेक्स्ट भन्ने कम्पनीले नेपालमा आईफोन आयात गर्ने एकाधिकार पाएको भन्दै उक्त कम्पनीको एप्पलसँग कुनै सम्झौता नभएको जिकिर गरेका र यदि त्यस्तो सम्झौता छ भने देखाउनुपर्ने मागसमेत गरेका थिए।

सम्बन्धित समाचार

गैरकानूनीरुपमा आईफोन आयात गर्न खोज्दै आईटी उद्यमी पाण्डे, नियामक र आयातकर्तालाई आरोप लगाउँदै

*समाचार तथा तस्वीर सम्पादित

प्रकाशित: ३१ भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया