अब नेपालमै बसेर टिकटकमा जागिर खाने मौका,पब्लिक पोलिसी म्यानेजर पदका लागि आवेदन माग

Technology Khabar २८ भाद्र २०८१, शुक्रबार

काठमाडौं ।

छोटो भिडियोहरुका लागि प्रख्यात सामाजिक सञ्जाल टिकटकले नेपालमै बसेर काम गर्नेगरी पब्लिक पोलिसी म्यानेजर पदका लागि आवेदन खुलाएको छ।

कम्पनीले हालै एक सूचना प्रकाशित गरी नेपालमै बसेर टिकटकका लागि काम गर्ने हिसाबले उक्त पदमा आवेदन माग गरेको हो। सिंगापुर र अमेरिकाको लस एन्जलसमा मुख्यालय रहेको यो कम्पनीको कार्यालयहरू न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सियोल, र टोकियोमा पनि छन्।

अहिलेको यो आवेदन भने दुबई कार्यालयका लागि हुने र नेपालमै बसेर काम गर्नुपर्ने सूचनामा उल्लेख छ। यो पदमा छानिने व्यक्तिले कम्पनीको सरकारी सम्बन्ध र सार्वजनिक नीति नामक टोलीमा रहेर काम गर्नुपर्ने हुन्छ।

गत वर्ष प्रतिबन्ध लागेको टिकटकले नेपालमा कार्यालय खोल्नुपर्ने, स्थानीय सम्पर्क व्यक्ति नियुक्त गर्नुपर्ने लगायतका शर्तहरु पालना गर्नुपर्ने भएकोले कम्पनीले यो आवेदन खुलाएको आकलन गरिएको छ।

यो टोलीले सरकारी मामिला, नीति विशेषज्ञता, जोखिम र संकट व्यवस्थापन, पहुँच, कोलिसन र साझेदारी जस्ता कामहरू सम्हाल्ने र यसको मुख्य उद्देश्य टिकटकका लागि राजनीतिक, कानुनी र नियामक खतराहरूलाई रोक्नु र व्यवस्थापन गर्नु रहेको उल्लेख गरिएको छ।

छोटा मोबाइल भिडियोको लागि अग्रणी गन्तव्यका रुपमा रहेको यो प्लेटफर्मको मुख्य उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र खुशी बाँड्नु रहेको उल्लेख गर्दै कम्पनीले विभिन्न जिम्मेवारी निर्वाह गर्न सक्ने व्यक्तिहरुबाट आवेदन चाहेको हो।

यो पदमा काम गर्न चाहनेले निम्नलिखित भूमिका निर्वाह गर्नुपर्ने कम्पनीले तोकेको छ:

  • सरकार, नीति निर्माता र प्रमुख व्यक्तिहरूसँग सम्बन्ध निर्माण र मर्मत गर्नु।
  • टिकटक र समुदायका लागि महत्त्वपूर्ण मुद्दाहरूमा नीति निर्माताहरूसँग संलग्नता रणनीतिहरू लागू गर्नु।
  • सम्बन्धित नीति ट्रेन्ड र कानुनी प्रस्तावहरूको पहिचान, निगरानी र विश्लेषण गर्नु।
  • नीति स्थिति कागजातहरू, परामर्श प्रतिक्रिया र आन्तरिक नीति बैठकहरूमा प्रस्तुत गर्नु।
  • जनसम्पर्क, कानूनी, उत्पादन र इन्जिनियरिङ जस्ता आन्तरिक टोलीहरूसँग मिलेर टिकटकका दीर्घकालीन रणनीतिक उद्देश्यहरू अनुरूप काम गर्नु।
  • उद्योग संघ, शैक्षिक संस्था र गैर सरकारी संस्थाहरूसँग नवीन परियोजनाहरूको विकास र दीर्घकालीन प्रभावका लागि सम्बन्ध स्थापना गर्नु।
  • बाह्य कार्यक्रमहरूमा कम्पनीको प्रतिनिधित्व गर्नु, नेटवर्क बनाउनु र टिकटकलाई विश्वासयोग्य ब्रान्डको रूपमा स्थापित गर्नु।

यसका लागि न्यूनतम योग्यता यसप्रकार तोकिएको छ

  • सार्वजनिक नीति वा सरकारी सम्बन्ध र वकालतको कामको प्रत्यक्ष अनुभव।
  • कानुनी प्रक्रिया र प्रविधि नीति सम्बन्धी ज्ञान।
  • अंग्रेजी र नेपाली भाषामा लेखन, पढ्न र बोल्न व्यापारिक स्तरको दक्षता।

यसबाहेक राजनीतिशास्त्र, अन्तर्राष्ट्रिय मामिला, सरकार, सार्वजनिक मामिला वा सम्बन्धित क्षेत्रमा उच्च डिग्री वा समान व्यावहारिक अनुभव।

  • कुनै विश्वव्यापी प्रविधि कम्पनी वा अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभव।
  • नीति वकालतमा अनुभव, जटिल नीति मुद्दाहरूलाई सरल व्याख्या र आकर्षक सन्देशमा रुपान्तरण गर्ने क्षमता

साथै टीमको हिस्सा बन्न सक्ने क्षमता र निर्णय र विवेकको राम्रो प्रयोग गर्न सक्नेले यो पदका लागि आवेदन दिन सक्ने जनाइएको छ। यो पदका लागि तलको लिंकमा गएर आवेदन दिन सकिन्छ।

टिकटकको पब्लिक पोलिसी म्यानेजर पदका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

 

प्रकाशित: २८ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया