च्याटजीपीटीका लागि ‘स्ट्रबेरी’ सार्वजनिक गर्दै ओपनएआई

  • Technology Khabar | २७ भाद्र २०८१, बिहीबार

काठमाडौं ।

ओपनएआईले आफ्नो तार्किकता-केन्द्रित आर्टिफिसियल इन्टेलिजेन्स “स्ट्रबेरी” आगामी दुई हप्ताभित्र च्याटजीपीटी सेवा अन्तर्गत ल्याउने योजना बनाएको छ।

यो सेवालाई दुई जनाले परीक्षण गरिसकेको जानकारीको आधारमा मंगलबार द इन्फर्मेशनले रिपोर्ट गरेको छ।

साम अल्टम्यानको नेतृत्वमा रहेको ओपनएआईले आर्टिफिसियल इन्टेलिजेन्समा नयाँ चासो बढाएको छ र यसले व्यापारिक उत्पादनहरूमा फाइदा उठाउन कम्पनीहरूलाई ठूलो लगानी गर्न उत्प्रेरित गरेको छ।

न्युज१८मा प्रकाशित रिपोर्ट अनुसार माइक्रोसफ्टद्वारा समर्थित यो एआई कम्पनीले गत हप्ता आफ्नो व्यावसायिक उत्पादनहरूमा १० लाखभन्दा बढी भुक्तानी गर्ने प्रयोगकर्ताहरू रहेको बताएको थियो।

यसो हुनुमा कम्पनीको अत्याधुनिक बृहत् भाषा मोडेलका कारण यसको च्याटबोटमा रहेको मजबुत स्वीकृति मुख्य कारण रहेको आकलन गरिएको छ।

द इन्फर्मेशनका अनुसार स्ट्रबेरी अन्य संवादात्मक एआईभन्दा फरक छ किनकि यसले प्रश्नको तुरुन्त जवाफ दिनुको सट्टा पहिले “सोच्ने” क्षमता राख्छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गत जुलाईमा चयाटजीपीटी निर्माता कम्पनी ओपनएआई आफ्ना एआई मोडेलहरूको नयाँ दृष्टिकोणमा “स्ट्रबेरी” नामक प्रोजेक्टमा काम गर्दै गरेको विशेष रिपोर्ट प्रकाशन गरेको थियो।

स्ट्रबेरी च्याटजीपीटीको हिस्सा भए पनि यो एक अलग सेवा भएको द इन्फर्मेशनमा उल्लेख छ। तर यसलाई कसरी प्रस्ताव गरिनेछ भन्ने कुरा स्पष्ट नभएको जनाइएको छ।

प्रकाशित: २७ भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...